धादिङ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाट नजिकै शुक्रबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ। दुर्घटनामा मृत्यु भएका ९ जनाको शव आफन्तलाई बुझाइएको छ भने तनहुँ देवघाट गाउँपालिका ५ घिनटारस्थित बन्दै गरेको पुलमुनी फेला परेको करिब ४५ वर्षीय पुरुषको शव सनाखत हुन बाँकी रहेको छ।
दुर्घटनामा परी घाइते भएका ३ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने १३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्।
काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरुमा भारत सितामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका ४ बस्ने ३२ चर्षीय विजय यादव र सर्लाही हरिहर घर हुने बस चालक ४० वर्षीय जिवन विक रहेका छन्। उनीहरुमध्ये चालक विकको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना बोल्न सक्ने अवस्थामा रहेका छन्।
सर्लाही मलंगवाबाट आएको उक्त बसमा चालक, सहचालक, कन्डक्टर र यात्रु गरी ४१ जना सवार रहेको भन्ने बुझिएको छ। दुर्घटनामा परी बेपत्ता भएका अन्य व्यक्तिहरुको खोजी तथा उद्दार कार्य एवं थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
२०७६ श्रावण २६ गते प्रकाशित