काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी थालेसँगै बिरामी मारमा पर्ने निश्चित भएको छ । अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने तयारी थालिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । उनले भने, ‘विगत पाँच वर्षदेखि अस्पतालले प्रदान गर्ने सेवामा मूल्य बढेको छैन । समयसापेक्ष सेवा शुल्क समायोजन गर्ने तयारी थालेका छौं ।’ त्यसका लागि चिकीत्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत् कार्यकारी परिषद्को बैठकमा मूल्य समायोजन सन्दर्भमा छलफल समेत सुरु भएको छ ।
अस्पतालका निर्देशक सेन्चुरीले सेवा दस्तुरलगायत सबैमा शुल्क परिमार्जन गरिनेछ । उनले कर्मचारीको तलब वृद्धि भएको भन्दै सेवा विस्तारसँगै शुल्क समायोजन गर्न लागिएको बताए ।
स्रोतका अनुसार नाम दर्ताबाहेक आईसीयू, ल्याब टेस्ट, एक्सरे, इको, फिजियोथेराफीलगायतमा मूल्य बढाउने तयारी थालिएको छ । अस्पतालले अन्य सरकारी अस्पतालले लिने शुल्कबारे अध्ययन कार्यलाई अघि बढाएको छ ।
हाल सर्जरी, अर्थोपेडिकलगायतका बिरामीको नाम दर्ता शीर्षकमा वीरले २० रुपैयाँ लिँदै आएको छ । यस्तै, मिर्गौला, मुटु, क्यान्सरलगायतका समस्या भएका बिरामीको नाम दर्ता शीर्षकमा ७५ रुपैयाँ लिँदै आएको छ ।
यस आर्थिक वर्षका लागि अस्पतालको कुल बजेट झन्डै १ अर्ब ४७ करोड रहेको छ । सो रकम अस्पतालको भौतिक संरचना, तलबलगायतमा खर्चिने बताइएको छ ।
विगत एक वर्षको अवधिमा अस्पतालको इमर्जेन्सीसहित ओपीडीबाट ४ लाख २२ हजार ८ सय १ जनाले सेवा लिएका छन् ।
दैनिक १ हजार १५८ जना बिरामी वीर अस्पतालमा पुग्ने गरेका देखिन्छन् । यस्तै, ६ हजार ८७७ जनाले इमर्जेन्सीसहितको सेवा लिएको अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले बताए ।
आर्थिक वर्ष २०७५/७६ मा सरकारले वीर अस्पताललाई २ अर्ब १० करोड २६ लाख रुपैयाँ बजेट निकासा गरेको देखिन्छ भने सो अवधिमा अस्पतालको आन्तरिक आम्दानी ३३ करोड ३६ लाख रुपैयाँ भएको तथ्यांक अस्पतालसँग छ ।
२५० चिकित्सकसहित १ हजार ५ सय कर्मचारी रहेको अस्पतालमा ४६० शैया छन् ।
२०७६ भाद्र १३ गते प्रकाशित
प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार -
१५:३०:२५ बजे