एजेन्सी । अस्ट्रियाको भियना भव्य वास्तुकला, हरियाली र परम्परागत कफी शपका लागि संसारभर परिचित छ । पछिल्लो समय यो शहरले अर्को पनि प्रतिष्ठा बनाएको छ । हाल भियना विश्वकै उत्कृष्ट बस्न योग्य शहर बनेको छ । बेलायती सञ्चार कम्पनी इकोनोमिस्ट ग्रूपको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले बुधवार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । स्थायित्व, संस्कृति र वातावरण, शिक्षा र पूर्वाधार अनि स्वास्थ्यसेवा सबैमा भियनाले अरू देशका शहरलाई उछिनेको छ । कुल १०० अंकमा भियनाले ९९ दशमलव १ अंक पाएको छ ।
यो सूचीको दोस्रो स्थानमा अस्टे«लियाको मेलबर्न छ । सूचीका अन्य शीर्ष पाँच स्थानमा अस्टे«लियाकै सिड्नी, जापानको ओशाका र क्यानडाको कलगरी छन् । त्यसैगरी, क्यानडाको भ्यान्कुभर, टोरन्टो जापानको टोकियो, डेनमार्कको कोपनहेगन र अस्टे«लियाको अडिलेड क्रमशः ६ देखि १०औं स्थानमा छन् । शीर्ष १० मा अस्टे«लिया, क्यानडा र जापानी शहरको वर्चश्व भए पनि समग्रमा भने यूरोपेली शहरको प्रदर्शन राम्रो छ ।
स्वीट्जरल्यान्डको जुरिच, जर्मनीको फ्रांकफुर्ट र स्वीट्जरल्यान्डकै जेनेभा क्रमशः ११, १२ र १४औं स्थानमा छन् । बेलायतको लन्डन र अमेरिकाको न्यूयोर्क भने ४८ र ५८औं स्थानमा छन् । यी दुवै शहरले संस्कृतिमा राम्रो मूल्यांकन पाए पनि पूर्वाधार र स्थायित्वमा कमजोर मूल्यांकन पाएका थिए । हङकङ ३८औं स्थानमा रहँदा सिंगापुर र दुबई क्रमशः ४० र ७०औं स्थानमा छन् । वातावरणीय समस्या र पानीको पर्याप्त व्यवस्था नहुँदा भारतको नयाँ दिल्ली र इजिप्टको कायरो भने तल झरेका छन् । नयाँ दिल्ली गतवर्षको तुलना ६ स्थान तल झरेर ११८औं स्थानमा आएको छ । मुम्बई पनि २ स्थान झरेर ११९औं स्थानमा आएको छ ।
सूचीको पुछारमा रहेका शहरलाई बस्न कम योग्य वा अयोग्य शहर मानिएको छ । यस आधारमा सिरियाको दमास्कस बस्न अयोग्य पहिलो शहर हो । दमास्कसले ३० दशमलव ७ अंक पाएको छ । नाइजेरियाको लागोस, बंगलादेशको ढाका, लिबियाको ट्रिपोली र पाकिस्तानको कराँची यो सूचीमा क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन् । यो सूचीको बाँकी शीर्ष १० मा पपुआ न्यू गिनीको पोर्ट मोरेस्बी, जिम्बाबेको हरारे, क्यामरुनको डौल, अल्जेरियाको अल्जियर्स र भेनेजुएलाको कराकास छन् ।
इकोनोमिस्टको परिसूचकले विश्वका १४० शहरहरूलाई स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति र वातावरण, शिक्षा र पूर्वाधार गरी पाँच तत्वका आधारमा वर्गीकृत गरेको थियो । शहरका हरेक तत्वहरूलाई पनि स्वीकार्य, सहँदो, अप्ठ्यारो, अवाञ्छनीय र असह्य गरी पाँच वर्गमा मूल्यांकन गरिएको थियो ।
२०७६ भाद्र १९ गते प्रकाशित
प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार -
१५:०७:४६ बजे