आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सम्झौता हुँदै

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सम्झौता हुँदै

  • 9.7K
    SHARES
  • काठमाण्डौैँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि असोज १ गते ठेक्का सम्झौता हुनेभएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने तय भएको हो । थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङमार्गसँग सम्बन्धित सबै छलफल टुङ्गिसकेको जानकारी दिँदै निर्माणका लागि जापानी कम्पनी हाज्मा–आन्दो (जेभी)सँग सम्झौता हुने बताए । बैङ्क ग्यारेन्टीसहितको प्रक्रिया सकेर जापानी कम्पनी आगामी साता नेपाल आउन लागेको छ । सम्झौतामा नेपालका तर्फबाट सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र निर्माण कम्पनीका प्रमुखले हस्ताक्षर गर्ने तय भएको जानकारी आयोजना प्रमुख खरेलले दिए । धादिङमा मुआब्जाको समस्या समाधान नहुँदा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ भएको थियो । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको बताए । ‘निर्माण सम्झौतापछि कम्पनीले आफ्ना क्याम्प राख्छन् र ‘फिनिसिङ’को काम गर्छन् । तिहारपछि निर्माण कम्पनी फिल्डमा गएर काम सुरु गर्नेछन्’, उनले भने, ‘तर सुरुङमार्ग निर्माणको मुख्य काम सुरु हुन अझै छ महिना लाग्ने छ ।’ विस्फोटक पदार्थ अभाव विस्फोटक पदार्थ नहुँदा सुरुङमार्गको निर्माण कार्य सुरु गर्न केही समय ढिलो हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले स्पष्ट पारे । उनले भने, ‘टनेल निर्माणका लागि आवश्यक पर्ने जति विस्फोटक पदार्थ नेपाली सेनासँग नरहेकाले निर्माण कम्पनीले विस्फोटक पदार्थ आयात गर्ने प्रक्रियामा जानुपर्छ । यस कारण निर्माणमा केही ढिलो हुनेछ ।’ विस्फोटक पदार्थ भारतबाट आयात गर्नुपर्ने र त्यसको प्रक्रियामा जाँदा कम्तीमा छ महिना लाग्ने उनले बताए । वास्तविक टनेल निर्माणको काम सुरु गर्न अझै छ महिना लाग्ने भए पनि त्यसभन्दा अगाडि ‘पहुँच बाटो’ निर्माणलगायतका तयारका कामहरू सुरु गरिने उनले बताए । वास्तविक टनेल निर्माणको काम चैतपछि मात्र सुरु हुने छ । (गोरखापत्र) २०७६ भदौ २९ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०७६ आइतवार - १६:०४:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology