धादिङ । नौबिसे–नागढुंगा सडक टालटुल पार्ने कामले यतिखेर यात्रुहरुले सास्ती पाएका छन् । काठमाण्डौँ भित्रीने र बाहिरिने मुख्य नाका नागढुँगा देखि नौबिसे सम्मका विभिन्न स्थानमा सडक टालटुल गर्ने काम हतार हतारमा भैरहेको हो ।
नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा पाएको चितवनस्थित जीएमआर कन्स्ट्रक्सनले गत असार मसान्तमै बिग्रेको सडक मर्मत गरिसक्नुपर्ने भएपनि दशैँको मुखैमा काम गर्दा गत वर्षहरु जस्तै यस वर्ष पनि यात्रु तथा चालकहरुले घन्टौँ जाममा बस्नुपर्ने बाद्यताका कारण दुख पाएका छन् ।
चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी गरी मर्मत थालिएको बताएका छन् । तर पनि आफुहरु घण्टौं जाममा बस्नुपरेको यात्रुहरुले बताएका छन् ।

अत्यधिक वर्षातका कारण असार महिनामा काम गर्न नसकिएको र वर्षात नभए बिहीबारसम्म मर्मत सकिने सडक मर्मत गर्ने जिम्मा लिएको निर्माण कम्पनीका संचालक गणेश पाण्डेले बताए ।
यसैबिच प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सवारी जाम घटाउन लामा मालवाहक सवारी साधनलाई मंगलवार देखि नै दिनभर जिल्लामै रोक्ने र नो ओभरटेक जोन मंगलबारबाटै लागु गर्न निर्देशन दिएको पनि बताएका छन् ।
२०७६ असोज ०७ गते प्रकाशित