काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने हुनुभएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति भण्डारीकै मैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिनुभएको हो ।
मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताउनु भयो । त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि सञ्चारमन्त्री बाँस्कोटाको भनाइ छ ।
उहाँले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेको पनि बताउनु भयो । चिनियाँ राष्ट्रपति सी को यही शनिबार र आइतबार दुई दिने नेपालको राजकीय भ्रमण हुँदैछ । सञ्चारमन्त्री बाँस्कोटाले त्यस भ्रमणमा नेपालले दुई मुलुकबीचको कनेक्टिभीटीमा जोड दिने उहाँले बताउनु भयो ।
२०७६ असोज २३ गते प्रकाशित