शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोहलपुर घटना साम्य पार्न यस्तो सहमति !

कोहलपुर घटना साम्य पार्न यस्तो सहमति !

  • 4.9K
    SHARES
  • नेपालगन्ज । बाँकेको कोहलपुरमा आइतबार बिहान भएको सडक दुर्घटनापछि उत्पन्न तनाव दिनभरिको वार्ता र छलफलपछि ६ बुँदे सहमतिमा टुंगिएको छ । घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपरीमा स्थानीय प्रशासनको पहलमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर ६ बुँदे सहमति खोजी टुंग्याएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको राजनीतिक दल, नागरिक समाज, अभिभावक, विद्यालय व्यवस्थापन गरी सर्वदलीय बैठक बसेर सो सहमति गरिएको छ । ६ बुँदे सहमतिअन्तर्गत दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षा दीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने, भिडन्तमा घाइते सम्पूर्णलाई उपचार खर्च राज्यले बेहोर्ने, घटनामा घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीलगायत सबै सरोकारवाला पक्षले पहल गर्न सद्भाव ¥यालीको आयोजना गर्ने रहेको छ । यसैगरी, घटनाले उग्ररूप लिनुमा कुनकुन ठाउँबाट कमजोरी भयो भनी छानबिन गर्न न्यायिक समिति गठन गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने, घटनामा आगजनी, तोडफोड भइ पुगेको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने, घाइतेको उपचार, क्षतिपूर्ति तथा राहतका लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारी, शैक्षिक संस्थालगायत सरोकारवाला सबैले आआफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने निर्णय गरिएको छ । सहमतिपछि पनि एक समूह सडकमा उत्रिएर तोडफोड गर्न सुरु गरेपछि त्यस्ता गतिविधि रोक्न तथा विध्वंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रहरीले राजमार्ग र आसपासको सुरक्षाको व्यवस्था बलियो बनाएको छ । स्थानीय त्रिभुवन नमुना माविमा ७ कक्षामा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि दोषीमाथि कारबाही, पीडितलाई न्याय र औषधि उपचारको माग गर्दै आक्रोशित विद्यार्थीको भीड नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कोहलपुरमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रदर्शनका क्रममा घाइते भएका १९ जना सर्वसाधारण र ४० जना प्रहरीमध्ये ११ जना सर्वसाधारणको काठमाडौंमा उपचार भइरहेको, तीन प्रहरीसहित एक जना नेपालगन्जमा र बाँकी उपचारपछि घर गएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । राजधानी दैनिकमा खबर छ । २०७६ मँसिर २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७६ मंगलवार - १७:०९:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology