शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अनियमितताले तुहिएको ‘प्याज मिसन’

अनियमितताले तुहिएको ‘प्याज मिसन’

  • 3.4K
    SHARES
  • काठमाडौं । यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको भाउमा अस्वाभाविक वृद्धि भएपछि सरकारले आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्ने उद्देश्यले प्याज मिसन कार्यक्रम ल्याएको थियो। उक्त मिसन कार्यान्वयनका लागि सरकारले साढे १५ करोड रुपैयाँ खर्च पनि गरेको थियो। तर उक्त मिसन पाँच वर्षभन्दा बढी टिक्न सकेन। कालीमाटी तरकारी बजारमा आइतबार प्याजको खुद्रा मूल्य प्रतिकेजी दुई सय २५ रुपैयाँ रह्यो, जुन तीन महिनाअघिको मूल्यभन्दा दुई सय ५७ प्रतिशतले बढी हो। साढे दुई महिनाअघि भारतले प्याज निर्यातमा बन्देज लगाएपछि नेपाली बजारमा प्याजको मूल्य अकासिएको हो। भारतले प्याज उत्पादन हुने क्षेत्रमा उत्पादन घटेपछि यो प्रतिबन्ध लगाएको थियो। भारत गरेको बन्देजका कारण सिर्जना भएको भनिएकोे यो संकटलाई समयमै उचित सम्बोधन नगरेको भनेर विज्ञहरूबाट सरकारको आलोचना भइरहेको छ। आमउपभोक्ता पनि प्याजको मूल्यवृद्धिलाई लिएर निकै रुष्ट बनेका छन्। यस किसिमको संकट सिर्जनामा आन्तरिकभन्दा बाह्य कारण जिम्मेवार रहेको भनी सरकारी अधिकारीहरूले दाबी गरिरहँदा १० वर्षअघि सुरु गरिएको र पाँच वर्षमै बन्द गरिएको प्याज मिसनबारे चर्चा चुलिएको छ। राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०६४र६५ मा सुरु गरिएको सो मिसन कार्यान्वयनका लागि तराईका सिरहा, सप्तरी, सर्लाही, बारा, रूपन्देही, धनुषा, दाङ, पर्सा, बाँके र बर्दिया गरी १० जिल्ला चयन गरिएको थियो। घरेलु उत्पादन अभिवृद्धि गरी आयात प्रतिस्थापन गर्ने मूल उद्देश्य लिएको सो कार्यक्रमअन्तर्गत सिरहा, धनुषा, सप्तरी र बारामा मात्रै प्रतिजिल्ला साढे दुई करोडभन्दा बढी लगानी भएको थियो। किसानलाई उन्नत बीउ, तालिम, नर्सरी स्थापनामा सहयोग तथा अन्य आवश्यक औजार खरिदमा यो मिसनले सहयोग गरेको थियो। कार्यक्रम अवधिमा १८ हजार अतिरिक्त जमिनमा प्याज खेती विस्तार गर्ने र दुई लाख ७१ हजार ६ सय ३४ टन थप प्याज उत्पादन गर्ने उद्देश्य मिसनले लिएको थियो। तर सो मिसनको उपलब्धि अत्यन्त निराशाजनक रह्यो। ‘पाँच वर्षको अवधिमा हामीले मात्र दुई हजार एक सय ४८ हेक्टर थप जमिनमा यो कार्यक्रम विस्तार गर्न सक्यौं,’ राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका कार्यवाहक प्रमुख डा। कमलराज गैह्रे बताउँछन्। नागरिक दैनिकमा खबर छ ।
    २०७६ मँसिर २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७६ मंगलवार - १७:१५:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology