काठमाण्डौँ । सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोस्ट (बोर्डर आउट पोस्ट– बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ ।
नेपाल–भारत सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न एक सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सिमानामा चार पोस्ट बढाइएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमाक्षेत्रमा हुने विभिन्न प्रकारका अपराधलाई नियन्त्रण गर्न र अन्तरदेशीय सीमालाई व्यवस्थित गर्न सरकारको निर्णयले मद्दत पुग्ने जानकारी दिए ।
खुला सीमानाका कारण नेपाल–भारत सीमाक्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न सरकारकोे हालैको निर्णयले थप मद्दत पुगेको उनले जानकारी दिए ।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठका अनुसार यसअघिको सरकारले सीमा सुरक्षालाई व्यवस्थित गर्न सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग गठन गरेको थियो ।
सो विभागले सबै सीमाक्षेत्रको अनुगमन तथा व्यवस्थापन गर्दै आएकोमा पछिल्लो पटक सो विभाग नै खारेजीमा परेको थियो। अहिले सरकारले बीओपीको संख्या थप गरेपछि सो विभाग पुनः कायम रहने भएको छ।
२०७६ पौष ०४ गते प्रकाशित