आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोना भाइरस : लक्षण नभएका मानिसबाट पनि सर्न सक्छ !

कोरोना भाइरस : लक्षण नभएका मानिसबाट पनि सर्न सक्छ !

नागरिक पाटी

११, चैत्र २०७६
  • 5.6K
    SHARES
  • काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षण नदेखिएका मानिसबाट यो भाइरस सरेको पाइएको छ । चिनियाँ समाचारपत्र द साउथ चाइना पोष्टले उल्लेख गरे अनुसार चिनियाँ तथ्यांकले एक तिहाइभन्दा बढी मानिसमा यो भाइरसको संक्रमणको लक्षण नै नदेखिएका मानिसबाट सरेको हो । यसले कोरोना भाइरस नियन्त्रणमा थप चुनौती थपिएको छ । अहिलेसम्म यो भाइरसको विश्वभर ३ लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । विश्वभर यसको कारण मृत्यु हुनेको संख्या पनि १४ हजार कटिसकेको छ । समाचारअनुसार फेब्रुअरी अन्तिमसम्म चीनमा ४३ हजारमा कोभिड–१९ को संक्रमण पाइएको थियो तर लक्षण देखिएको थिएन । त्यसैले सबैलाई क्वारेन्टाइनमा राखेर निगरानी गरियो । यो संख्या आधिकारिक संक्रमितमा पनि जोडिएन । अहिले पनि वैज्ञानिकहरु लक्षण नदेखिएका मानिसबाट यो रोग फैलिनसक्छ भन्नेमा सहमत हुन सकेका छैनन् । सामान्यतया यो भाइरसको बिरामीमा पाँच दिनसम्ममा संक्रमण देखिन्छ । तर कुनैकुनै अवस्थामा तीन सातासम्म लक्षण नदेखिन सक्छ । र, सबैभन्दा जटिल कुरा फरकफरक देशको तथ्यांक फरकफरक किसिमले मापन गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने कोभिड–१९ को परीक्षणमा संक्रमण देखिएका सबैलाई पुष्टि भएका संक्रमितको रुपमा लिएको छ । दक्षिण कोरियाले पनि यही मापदण्डलाई पछ्याएको छ । तर चीन सरकारले भने फेब्रुअरी ७ मा वर्गीकरणलाई परिवर्तन गर्‍यो । उसले कोभिड–१९ को लक्षण देखिएका र परीक्षणमा पनि पोजेटिभ पाएकाहरुलाई मात्र संक्रमित मान्ने निर्णय गर्‍यो । अमेरिका, बेलायत र इटालीले भने सामान्य रुपमा स्वास्थ्यकर्मीबाहेक अरु लक्षण नदेखिएका मानिसमा भाइरसको परीक्षण नै गर्दैनन् । चीन र दक्षिण कोरियाले भने बिरामीको नजिकको सम्पर्कमा आएका लक्षण नदेखिएका मानिसमा पनि परीक्षण गरिरहेका छन् । दुबै मुलुकमा भाइरस नियन्त्रणमा आउनुको एक कारण यो पनि हो । हङकङले पनि विमानस्थलमा आउने सबै मानिसलाई कोरोना संक्रमण भए नभएको परीक्षण गरिरहेको छ । यूरोपेली मुलुकहरुले भने लक्षण देखिएका मानिसमा मात्र यो भाइरसको परीक्षण गरिरहेका छन्, जसको कारण लगातार यो भाइरसको संक्रमितको संख्या बढिरहेको छ । अहिले संक्रमितहरुको संख्या उल्लेख्य रुपमा बढेसँगै डब्लुएचओको यसअघिको वक्तव्यबारे समेत प्रश्न खडा भएको छ । डब्लुएचओले कुनै पनि लक्षण नदेखिएका मानिसबाट यो भाइरस सर्ने सम्भावना निकै कम रहेको बताएको थियो । डब्लुएचओले केवल एकदेखि तीन प्रतिशत संक्रमितमा मात्र लक्षण नदेखिएका बिरामीबाट यो रोग सरेको बताएको थियो । अहिले कोभिड–१९ का बिरामीको संख्या बढिरहेको छ । यस्तोमा चीनभन्दा बाहिर अझै पनि धेरै मानिसमा कोरोना भाइरसको संक्रमितको पहिचान हुन बाँकी रहेको हुनसक्ने विशेषज्ञहरुले बताएका छन् । फेब्रुअरीमा सार्वजनिक गरिएको एक अध्ययनले जापानमा पनि ३० दशमलव ८ प्रतिशत संक्रमितलाई कुनै लक्षण नदेखिएका मानिसबाट कोभिड–१९ सरेको देखाएको थियो । यो तथ्यांक चीन सरकारको तथ्यांकसँग मेल खान्छ । दक्षिण कोरियाले पनि तीन लाखभन्दा धेरै मानिसमा यो भाइरसको परीक्षण गरिसकेको छ । र, २० प्रतिशतभन्दा बढी कुनै लक्षण नदेखिई संक्रमित भएको पाइएको थियो र उनीहरु उपचारपछि निको भएका घर फर्किएका छन् । दक्षिण कोरियाको तथ्यांक पनि चीनको तथ्यांकसँग मिल्दोजुल्दो नै छ । जापानको योकोहामामा एक पानी जहाजमा ७ सय १२ जना मानिसमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो, जसमध्ये ३ सय ३४ जनामा कुनै लक्षण देखिएको थिएन । युरोपेली युनियन ९ईयू० को प्रतिवेदनलाई आधार मान्ने हो भने पनि इटालीमा ४४ प्रतिशत संक्रमितमा भाइरसको कुनै लक्षण देखिएको छैन । तर अझै पनि मुलुकमा धेरै क्षेत्रमा लक्षण नदेखिएका मानिसहरुलाई परीक्षण गरिएको छैन । हङकङमा पनि १३८ पुष्टि भएका संक्रमितमध्ये १६ जनालाई कुनै संक्रमण देखिएको थिएन । डब्लुएचओले भने अहिलेसम्म लक्षण नदेखिएका मानिसबाट यो भाइरस कसरी सर्छ भन्ने कुरा स्पष्ट नभएको बताएको छन् । तर लक्षणसहितका बिरामीबाट नै धेरैजसो मामिलामा यो रोग सर्न सक्ने डब्ल्यूएचओको निश्कर्ष छ । वैज्ञानिक तथा विशेषज्ञहरुले भने लक्षण नदेखिएका मानिसबाट यो रोग सर्ने सम्भावना उल्लेख्य रहेको बताएका छन् । केहीले भने दुवै किसिमका बिरामीबाट यो रोग सर्ने सम्भावना बराबर रहेको भन्दै चेतावनी दिएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७६ मंगलवार - १९:२०:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology