महादेववेशी । मिलिजुली महिला बचत तथा ऋण सहकारी सँस्था लि. थाक्रे धादिङले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना ब्यवसायी सरोकार कोष अन्तर्गतको रु ५० लाख हात पार्न सफल भएको छ । नेपाल सरकारले युवाहरुलाई बिदेश पलायन हुने दरमा कमी ल्याउन यस किसिमको कार्यक्रम आएको र धेरै सहकारी मध्ये मिलीजुली सहकारी सँस्थाले यस किसिमको सफलता हात पार्न सफल जनाईएको छ ।
सहकारीको खातामा आएको पहिलो किस्ता अन्तर्गत रकम रु २५ लाख बिभिन्न आयमुलक काममा लगानी गर्नको लागी सोमबार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको मिलिजुली सहकारी सँस्थाकी अध्यक्ष उर्मिला रेग्मीले बताईन् । करिव १ हजार एक सय महिला सदस्य भएको यस सहकारी सँस्थाले सहुलियत कर्जाका लागी आफ्ना सदस्यहरुलाई अनुरोध समेत गरेको छ ।

सञ्चालन भईरहेको जुनकुनै ब्यबसायलाई प्रर्वद्धन गरि थप आर्थिक उपार्जनका लागी टेवा पुग्ने खालका ब्यबसाय सञ्चालन गर्नको लागी यस किसिमको कर्जा प्राप्त गर्न सकिने सहकारीले जनाएको छ । भैँसि पालन, गाई पालन, बाख्रा, तरकारी खेति, मत्स्य पालन, कुखुरा पालन लगायत कृषि तथा अन्य ब्यवसाय मादल बनाउने, घरेलु औजार बनाउने आदिको लागी यस योजना अन्तर्गत रहेर ऋण लिन सकिने मिलिजुली सहकारी सँस्थाकी कोषाध्यक्ष यशोदा बिँडारीले बताईन् ।
यस्ता कृषि कार्य तथा व्यवसायका लागी सहकारीले पेसाको प्रकृति हेरेर रकम निकासा गर्ने जनाएको छ । यसरी आफुले पाएको रकमको १० प्रतिशतका दरले ब्याज बुझाउनु पर्ने जनाईएको छ ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी सरोकार कोषका अध्यक्ष दिपक कँडेलले बेरोजगारी युवा युवतिहरुको लागी यस्ता योजना नेपाल सरकारले ल्याएको बताए । उनले सहकारीबाट कर्जा लिईसकेपछि यसलाई उत्पादन शिल क्षेत्रमा लगानी गर्न आगह गरेका छन् । अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारीमा तिर्नुपर्ने ब्याज तिर्न कठिन पर्ने भएकाले पनि यसलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गर्नुपर्ने उनको भनाई छ ।
व्यवसाय सुरु गरिसकेपछि आफुले जुन व्यवसाय सुरु गरेको हो, त्यो व्यवसाय र ऋृणी स्वयमको पनि बिमा हुने कँडेलको भनाई छ ।
कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला सहकारी सँघ धादिङका अध्यक्ष नेत्र पौडेलले गाउँमा रहेका महिला दिदीबहिनीहरुलाई स्वरोजगार बन्न यस किसिमको कर्जाले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताए । अन्य बित्तिय सँस्थाहरुबाट लिएको ऋण भन्दा निकै सस्तो ब्याजदरमा पाएको रकमलाई लगानी योग्य स्थानमा परिचालन गरि अरु भन्दा अब्बल दर्जाको व्यवसायी बन्न अनुरोध समेत गरेका छन् । यसैगरी उहाँले बिना धितो पाएको रकम भनेर बेवास्ता नगर्न पनि आग्रह गरे ।
सिड्स धादिङ नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले यस किसिमको कर्जा लिएर सहि ठाउँमा प्रयोग गरेर आफु र सहकारीको गरिमा उँचो पार्न अनुरोध गरे । समाजमा बिभिन्न किसिमका मान्छे हुने भएकाले सहि रुपमा काम अगाडी बढाउँदै लगे एक दिन सफल ब्यवसायि बन्न सकिने उनको भनाई छ ।
यसैगरी थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रबि प्रकाश ओझाले पनि सहकारीको खातामा पहिलो किस्ता स्वरुप रु २५ लाखलाई ईमान्दार सदस्यहरुमा बितरण गरेर दोस्रो किस्ता ल्याउन आगह गरे । साथै यस्ता योजनाहरु अझ बढी ल्याउन पनि मिलिजुली सहाकारी सँस्थालाई शुभकामना दिएका छन् । सहकारीबाट लिईएको कर्जा ३ बर्ष ६ महिनामा चुक्ता गर्नुपर्ने नियम रहेको मिलिजुली सहकारी सँस्थाकी अध्यक्ष उर्मिला रेग्मीको भनाई छ ।
२०७६ श्रावण १३ गते प्रकाशित