नुवाकोट । माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । आयोजनाको दोस्रो युनिटको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिएपछि आयोजनाले पूर्णता पाएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । उनका अनुसार ३० मेगावाट पहिलो युनिटले जेठ २ गते बाटै उत्पादन थालेको थियो । आयोजनाको दोस्रो युनिटको पनि बुधबारबाट लगातार ७२ घन्टे परीक्षण पनि सफल भएको छ ।
यससँगै २०६५ मा मध्य मस्याङ्दीपछि सबैभन्दा ठूलो आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाई छ । घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्विच यार्डको कन्ट्रोल रुममा पुगेर आयोजनाको निर्माण सकिएको घोषणा गरेका हुन् । यद्यपि आयोजनाको दोस्रो युनिट अहिले पनि परीक्षण उत्पादनकै क्रममा छ । परीक्षण उत्पादन सफल सकिपछि व्यवसायिक उत्पादन सुरु हुने जनाईएको छ ।
२०७६ श्रावण १८ गते प्रकाशित