नयाँ दिल्ली । भारतीय सिनेमाका प्रसिद्ध संगीतकार खय्यामको निधन भएको छ। उनी ९२ वर्षका थिए।
हृदयाघातका कारण उनको मृत्यु भएको भारतीय टेलिभिजन संस्था एएनआईले जनाएको छ। मुम्बइको सुजय अस्पतालमा उनको निधन भएको हो।
अस्पतालमा लामो समयदेखि अतिसघन कक्ष (आइसियू) मा रहेका खय्यामले सोमबार राति साढे ९ बजे अन्तिम स्वास लिए। मंगलबार उनको अन्तिम संस्कार गरिने भएको छ।
लामो समयदेखि फोक्सोको संक्रमणबाट पीडित संगीतकारको पुरा नाम मोहम्मद जहुर खय्याम ‘हाशमी’ थियो। तर उनी खय्यामका नामले नै प्रसिद्ध भए।
१९४५ मा दोश्रो विश्व युद्धको अन्त्य पछि उनी आफ्नो सपना साकार पार्न मुम्बइ पुगे। उनले १९६१ मा हीर रांझा सिनेमाका लागि बनाइएको शर्माजी वर्माजी नामक संगीतकार जोडीको शर्माजी को नामबाट पहिलो संगीत दिएका थिए। तर उनको पहिचान भने ‘बीबी’ चलचित्रमा मोहम्मद रफीले गाएको अकेले मे वो घबराते तो होंगेु गीतबाट भएको थियो।
राजकपुर र माला सिन्हा अभिनित फिर सुबह होगी ९१९५८० बाट खय्याम भारतीय सिनेमा जगतमा चिनिने संगीतकारको रुपमा उदाए। हिन्दी र उर्दु भाषामा कलम चलाउने दिग्गत साहित्यकार तथा गीतकार साहिर लुधियानवीले लेखेको गीतमा मुकेश र आशा भोंसलेले आवाज दिएका थिए।
शोला और शबनम ९१९६१० मा कैफी आजमीले लेखेको गीतमा संगीत भरेका खय्यामको प्रसिद्धि थप चुलियो। देवानन्दका दाजु चेतन आनन्दले निर्देशन गरेको चलचित्र आखरी रातमा ‘बहारो मेरा जीवन भी सबारो’ पनि उनले संगीत दिए। त्यसपछिको उनको सांगीतिक छवि थप चुलिँदै गयो।
कविताको क्षेत्रमा समकालीन र किंवदन्ती बनेका दुवै युगसँग उनी जोडिए। मिर्जा गालिब, दाघ, वाली साहेब, अलि सरदार जाफरी, मजरुह सुल्तानपुरीपछि नयाँ पुस्ता निदा फाजली, लुधियानवी, आजमीसम्म काम गरे। उनका रचनाहरूको शैली उतिबेलाको अर्धशास्त्रीय, गजल, लाइट म्युजिक र फास्ट गीत संगीत भन्दा विल्कुल भिन्न थियो।
खय्यामको संगीतमा भारतीय शास्त्रीय संगीत मिश्रित गजलको स्पर्श सुनिन्छ। उनका गीत आत्मीय, मधुर र भावपूर्ण छन्।
इन आँखो कि मस्ती के (उमराव जान), आजा रे आजा ओ मेरे दिलबर आजा (नुरी), मै पल दो पलका शायर हुँ (कभी कभी), ये दिले नादान(रजिया सुल्तान), दिखाइ दिए (बजार), खानदान, थोडी सी बेवफाइ जस्ता चलचित्रमा सदाबहार र कालजयी संगीत भरेका खय्याम संगीत नाटय एकेडेमी पुरस्कार, पदम भूषणबाट पनि सम्मानित थिए। उनले तीनवटा फिल्मफेयर अवार्ड पनि हात पारेका थिए।
नौ दशक बढिको लामो जीवन बाँचेका खय्यामको निधन सँगै भारतीय सिनेमा जगतमा एक सांगीतिक युगको अन्त्य भएको छ।
२०७६ भदौ ३ गते प्रकाशित
प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार -
१८:४०:४१ बजे