पोखरा । पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ । चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा बुधबारबाट पोखरामा रहेको नेपाल पर्यटन बोर्डमा सुरु भएको कार्यशाला शुक्रबारसम्म चल्नेछ । चलचित्र पत्रकार संघले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा यो कार्यशाला आयोजना गरेको हो ।
कार्यशालामा सहभागी हुन राजधानीबाट ८० जना र चितवन लगायतका शाखाबाट १० बढी फिल्म पत्रकारहरु पोखरामा भेला भएका छन् ।
उक्त कार्यशालामा पत्रकार आचारसंहिता तथा मिडियासम्बन्धि कानुन, चलचित्र, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया सम्बन्धि दक्षताको ज्ञान सिकाइनेछ । कार्यशालाको क्रममा चलचित्र पत्रकारलाई पोखराका विभिन्न रमणीय स्थान पनि अवलोकन गराइनेछ ।
चलचित्र पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष सन्दीप सापकोटाले यस कार्यशालाले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
२०७६ भाद्र १९ गते प्रकाशित