आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चीनको हार्दिक प्रेम नै हाम्रा लागि ठूलो सम्मान

चीनको हार्दिक प्रेम नै हाम्रा लागि ठूलो सम्मान

नागरिक पाटी

२७, आश्विन २०७६
  • 5.4K
    SHARES
  • हरिविनोद अधिकारी

    images

    चीनका महामहिम राष्ट्रपति सि चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण९ १२ र १३ अक्टुबर २०१९ अर्थात् २५ र २६ असोज, २०७६० सम्पन्न गरी चीन फर्किसक्नु भएको छ । तेस्रो विश्वलाई नेतृत्व गर्ने शक्ति राष्ट्रका उदीयमान नेता, जसको नेतृत्वमा संसारमा नै शक्तिशाली मानिने देशको रुपमा गणना हुन थालेका देश चीनका महामहिम राष्ट्रपति सिको नेपालप्रति देखिएको सद्भाव र सदाशयतालाई प्रशंसा नगरिरहन सकिँदैन । उहाँको बोली, शरीरको चालढाल९ बडी ल्याङ्ग्वेज०,उहाँको नेपाल बसाईको क्रममा देखिएको नेपालका सबै दलहरुप्रतिको सद्भाव र सहयोगका भावनालाई सम्मान गर्नुपर्छ ।

    नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सि चिनफिङको दुई दिने राजकीय भ्रमणमा नेपाल आगमनले नेपाल र चीनका बीचमा रहेको पारम्परिक सुसम्बन्ध अझ सुदृढ हुने कुरामा कूटनीतिक क्षेत्र विश्वस्त रहेको पाइन्छ । वास्तवमा समस्यारहित छिमेकीका रुपमा नेपाल र चीन रहेका छौँ । महामहिम राष्ट्रपति सिको भ्रमण धेरै वर्षदेखि अपेक्षित थियो र पनि अहिलेमात्र सम्भव भएको छ । योभन्दा पहिले २३ वर्ष सन् १९९६मा चीनका राष्ट्रपति चियाङ चमिनको नेपाल भ्रमण सम्पन्न भएको थियो र हाम्रा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको यसै वर्षको अप्रिलमा राजकीय यात्रा सम्पन्न भएको थियो । हाम्रा प्रधानमन्त्रीहरुको पनि बारम्बार चीनको भ्रमण भई नै रहेका छन् । चीनका तर्फबाट उच्चस्तरीय भ्रमण कमै भएको भए पनि नेपाल चीन सम्बन्धमा कुनै पनि समस्या देखिएको छैन ।

    छिटो छिटो राष्ट्रपतिहरुको भ्रमण आदान प्रदान नभए पनि नेपाल र चीनको सम्बन्धमा कहिल्यै पनि उतार चढाव आएको छैन । एउटा सार्वभौमसत्तासम्पन्न राष्ट्रलाई दिने सम्मान चीनले नेपाललाई दिइरहेको छ । नेपाल र चीनको भौगोलिक र राजनीतिक अन्तरले खासै असर पारेका छैन र नेपालको आन्तरिक मामिलामा अहस्तक्षेपकारी भूमिकामा चीन सदैव दृढ देखिन्छ । अनि नेपाल पनि एउटै मात्र चीनको अस्तित्वका लागि सधैँ सम्मान गर्ने देशको रुपमा देखिएको छ । हिजोका दिनमा जुनबेला चीन मुख्य भूमि नै संयुक्त राष्ट्रसंघको सदस्यता भन्दा बाहिर थियो,त्यो बेलामा पनि नेपालले एक चीनको नीतिलाई दृढताका साथ समर्थन गर्दै ताइवानलाई चीनको विकल्पमा मानेको थिएन । यसमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक उँचाइले काम गरेको थियो । उहाँले चीनसँग देखाउनु भएको सदाशयतालाई आज पनि चीनले उत्तिकै सराहना गरेको पाइन्छ जुनकुरा यसपटकको महामहिमको सिको भ्रमणमा पनि उहाँले उदाहरणीय रुपमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबासँगको आत्मीय भेटघाटले स्पष्ट पारेको छ । त्यसको केही सकारात्मक परिणाम देखिन थालेको छ नेपाली राजनीतिमा ।

    नेपालका सम्माननीय राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सिका बीचमा द्विपक्षीय वार्ता पनि भए, प्रधामन्त्री केपी शर्मा ओली र महामहिम सिको उपस्थितिमा केही सम्झोता र सहमति पनि भए । गोप्य वार्ता पनि भए । २० बूँदामा कतिपय कुरा समेटिए । नेपालको आधारभूत संरचनाका लागि चीनले धेरै कुरा गर्ने तत्परता देखाएको पाइयो । हामीले विज्ञप्ति र सहमतिका बूँदाहरुलाई मात्र केलाउनु हुँदैन ।

    चीनका महामहिन राष्ट्रपति सिले केके दिनुभयो भन्ने कुरा यहाँनेर यसकारणले पनि गौण हुन्छ कि उहाँको सद्भाव र नेपाललाई हेर्ने सकारात्मक दृष्टिकोण नै हाम्रालागि प्रशस्त भएको छ । सबैभन्दा ठूलो कुरो यति लामो खुला सीमा भएको दुई देशमा सीमाका वारेमा समेत खासै कुनेै समस्या छैनन् र नेपालका तर्फबाट यही समस्याले गर्दा हाम्रा बीचमा समाधान हुन बाँकी छ है भन्ने पनि केही छैन । जुन महत्वका साथ राष्ट्रपति सिले नेपालको सम्मान गरेको पाइयो, त्यो नै आजको हाम्रो असल परिणाम हो ।

    नेपाल भूपरिवेष्टित छ, यो जगजाहेर छ । र त्यसैले हाम्रो गरिबी र पछौटेपनको कारण बन्नु हुँदैनथ्यो । तर बनेको छ । न त हामी आफ्नो भूगोल परिवर्तन गर्न सक्छौँ , न त हामी छिमेकी साट्न सक्छौँ । नेपालको तीनतिर भारत र उत्तरतिर चीन रहेको तथ्यलाई पनि हामीले छोष्न सक्दैनौँ । उत्तरतिर विकत सीमा छ, त्यो पनि हामी परिवर्तन गर्न सक्दैनौँ तर विकटतालाई सुगम बनाउनका लागि चीनले देखाएको तत्परतालाई हामीले आत्मसात् यसरी गर्नुपर्छ कि यो चीनको काम होइन, हाम्रालागि चीनले गरेको आत्मीय सहयोग हो ।

    विश्वका उदीयमान अर्थतन्त्र भएका छिमेकीहरु, भारत र चीन, हामीसँग छन् । उनीहरुका साझा चासोका विषयहरु पनि हामीसँग केही जोडिएका छन् । हामीले ती चासोका विषयहरुमा समानरुपले समभाव प्रकट गरी व्यवहारमा विश्वस्त पार्नु पनि हाम्रो कर्तव्य हो , कूटनीतिक कौशलता हो । यसलाई नेपालका सबै दलहरु , नागरिक समाजहरु र आम सञ्चारहरुको सहयोगमा साझा नीति तयार गरी एउटै आवाज दिनसक्नुपर्छ जस्तो कि भारतमा देखिन्छ । चीनमा देखिन्छ । अमेरिकामा नै देखिन्छ । त्यो परिपक्वता हामीले पनि आर्जन गर्नुपर्छ ।

    केही सम्झौता, केही सहमति र केही अपेक्षाहरु देखिएका छन् दुई देशका बीचमा । संयुक्त विज्ञप्तिले तिनलाई स्पष्ट पार्ने कोसिस गरेको पाइन्छ । त्योभन्दा पनि हाम्राबीचमा देखिएको समान सम्मान र हार्दिकता नै हाम्रा दुई देशका बीचको मित्रताको आधारशिला हो । साँच्चै महामहिम सिले भनेजस्तै हाम्राबीचमा मित्रता बाहेका अरु कुनै कुरा छैन । कुनै समस्या छैन । अबको कर्तव्य भनेको चीनको सहयोगका सदुपयोग गर्ने हो । विकास हामी आफैँले गर्ने हो । नेपालको विकासमा चीन तथा भारतले सहयोगको टेवामात्र दिने हो, हाम्रो काम हामी आफैँले नै गर्ने हो । मात्रै मगन्ते जस्तो हुनु चाहिँ राम्रो होइन । हाम्रो उत्पादन बढाउन र हामीले आफ्ना खुट्टामा उभिनुपर्छ भनेर अरुले सिकाउने दिन नआओस् भन्नेतर्फ बढी नै सचेत हुनुपर्नेछ आगामी दिनमा ।

    हाम्रो काम भनेको छिमेकीका बीचमा तगारो होइन कि सम्बन्धसेतु बन्ने हो । विश्वमा नेपालको जुन शान्तिपूर्ण देशको छवि छ, त्यसलाई अझ उजिल्याउने हो र अव आधारभूत आवश्यकताका लागि चिच्याउँदै मगन्ते हुनुभन्दा आन्तरिक समस्या पहिल्याउँदै आफ्नो खुट्टामा उभिने प्रयास गर्ने हो । चीनको अभूतपूर्व आत्मविश्वास बढेको र विकासको पाइला सुदृढ भएको देख्दा हामीले त्यो गुणचाहिँ पछ्याउनु पर्छ र चीनले उदारतापूर्वक गर्ने सहयोगको हामीले अत्यधिक सदुपयोग गर्नुपर्छ जसले चीनलाई पनि आफ्ना जनताको गाँस काटेर दिएको अनुदानको सदुपयोग भएको प्रत्याभूति होस् । नेपाल चीन सम्बन्ध अरु कसिलो र हार्दिक बन्दै जाओस् । चीनका विकासका लागि भएका प्रयासहरुको हामीले नक्कल गर्नुभन्दा त्यस्तै हुने परिश्रम गर्न सक्नुपर्‍यो ।


    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७६ सोमवार - १८:२९:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology