शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिन्धुपाल्चोक बस दुर्घटना : बढी लोड र तीव्र गति

सिन्धुपाल्चोक बस दुर्घटना : बढी लोड र तीव्र गति

  • 7.2K
    SHARES
  • काठमाण्डौ । तीव्र गति र बढी लोडका कारण सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको यात्रुहरुले बताएका छन् । घाइतेका अनुसार क्षमताभन्दा बढी लोड गाडी तीव्र गतिमा चलाएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा हिजो आइतबार दिउँसो भएको दुर्घटनामा १७ जनाले मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–६ सानुपाखरका घाइते लोकबहादुर थापाका अनुसार भैँसेमा खाना खाएपछि गाडी एकदम तीव्रगतिमा गुडाएको थियो । यता सुकुटे आइसकेपछि घुम्ती जस्तो ठाउँमा एकपटक घटक्क गरेको आवाज सुन्नेबित्तिकै एकैचोटी बल्ड्याङ खाएर गुल्टेको उहाँले बताउनुभयो । ‘गाडी एक्कासी गुल्टेपछि नदीमा डुब्यो । मचाहिँ सिट पन्छाएर बाहिर निस्केपछि पाँच जनाजति महिला र पाँच जना बच्चालाई तानेर निकालेँ । त्यसपछि आफैँ श्वास फेर्न नसकेपछि फर्केर हेर्दा आफ्नै श्रीमती पनि छट्पटिएर बसेकी रहिछ’, उहाँले भन्नुभयो, ‘बल्लबल्ल उनलाई तानेर बाहिर ल्याएर माथि आएपछि ट्रकमा चढेर अस्पताल आएको हुँ ।’ दुर्घटनामा ज्यान गुमाउने १७ जनामध्ये १४ जनाको परिचय खुलेको प्रहरीले जनाएको छ । ज्यान गुमाउने १७ जनामा ६ बालक, ३ बालिका, १ पुरुष र ७ महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ज्यान गुमाउनेमा दोलखा जिल्ला शैलुङ–६ की ५२ वर्षीया चेतकुमारी बस्नेत, शैलुङ–४ का छ वर्षीया सलिना तामाङ, शैलुङ–३ का तीन महिनाका बालक रोशन तामाङ, शैलुङ–३ कै २७ वर्षीया चमेली श्रेष्ठ रहेकी छिन् । त्यसैगरी ४५ वर्षीया रत्नकुमारी रावत, २९ वर्षीय किरण रावत, २० वर्र्षीया कविता रावत र १४ वर्षीय निखिल खड्का शैलुङ–५ का रहेका छन् । शैलुङ–४ का १४ वर्र्षीय दिल लामा, शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का, काभ्रेपलाञ्चोक रोशी–४ की पाँच वर्षीया सजिना तामाङ, दोलखाका ७० वर्षीया उरमाया तामाङ र भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसीको पनि ज्यान गएको छ । त्यस्तै सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–४ की ६ वर्षीया माया श्रेष्ठ र तीन जना बालकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिरहेका छन् । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाइ छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । केही शवहरु खोलाले बगाएको अनुमान गरिएको छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा पुगेको थियो । बसमा ४० बढी सवार रहेका थिए । सिन्धुपाल्चोकको स्थानीय अस्पताल खाडीचौरमा २० जनाको उपचार भइरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ । गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भुपाल खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले पनि उद्धारकार्य जारी रहेको जानकारी दिनुभयो । घाइतेहरूको नामावली दुर्घटनामा निशा तामाङ, एकरानी कार्की, छत्रकुमारी थापा, सुनिल थापा जीवन खड्का, समीर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, सङ्गीता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदीक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ र कौशिला कार्की रहेको प्रहरीले जनाएको छ । प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तमाङ, श्रीकृष्ण कार्की, शिशिर तामाङ र सुनिता तमाङ घाइते भएका छन् । त्यसैगरी शसीता तामाङ, युनिसा तामाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तमाङ, जीतबहादुर खड्का र लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तामाङ, दीपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ र सुकमान विक रहेका छन् । घाइते ४७ जनामध्ये ४७ तीन जनाको नाम खुल्न सकेको छैन ।                       –राससको सहयोगमा   २०७६ कार्तिक १८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७६ सोमवार - १६:१२:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology