आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महाधिवेशनको चक्रव्यूहमा नेपाली कांग्रेस

महाधिवेशनको चक्रव्यूहमा नेपाली कांग्रेस

नागरिक पाटी

१५, माघ २०७६
  • 6.2K
    SHARES
    •  तेजप्रसाद लामिछाने

      images
    चुनावमा लज्जास्पद पराजय भोग्दा पनि नैतिकता गुमाएको अहिलेको पार्टी नेतृत्वबाट सजिलै १४ औं महाधिवेशन आशा नराखे हुन्छ । बीपी कोइरालाको दूरदृष्टि, सुवर्ण शम्शेरको दानवीर भावना, गणेशमान सिंहको त्याग र स्वाभिमानको राजनीति, कृष्णप्रसाद भट्टराईको जस्तो सादगी र सदाचारबाट सिञ्चित नेपाली कांग्रेसको संस्थापकहरुको भावना, सोच र संस्कारलाई अहिलेको पार्टी नेतृत्वले तिलाञ्जलि दिएको छ । कांग्रेसका कार्यक्रम र समारोहहरूमा संस्थापकहरूको फोटोमा माल्यार्पण गर्दासमेत उनीहरुलाई गिज्याएजस्तो लाग्छ । विसं २०७४ को चुनावमा कांग्रेस नराम्रोसँग पराजित भएपछि नेतृत्वले राजीनामा देला, अनि सक्षम र योग्य व्यक्ति पार्टी नेतृत्वमा आउला भन्ने अपेक्षा नेपाली कांग्रेसका कार्यकर्ताले राखेका थिए । तर, पार्टी सभापतिले त्यो नैतिकता देखाउन सकेनन् । उल्टै नैतिकता र संस्कारको प्रश्न उठाउने नेताहरूलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिए । पराजयको नैतिक जिम्मेवारी लिनु त कता हो, समीक्षा बैठकसमेत राख्न चाहेन पार्टी नेतृत्वले । बल्लतल्ल बसेको केन्द्रीय समितिको बैठकमा चुनावमा पार्टी हारेको छैन, व्यक्तिले हारेको हो, चुनावमा अन्तर्घात भयो, दुवै कम्युनिस्ट मिलेकाले हामी हार्‍यौँ भने ‘ताक न तुक’का निर्णय गराउन खोजियोे । चुनावको नतिजाबाट निराश महासमिति सदस्यहरुले महासमिति बैठक राख्न खोजे तर पार्टी नेतृत्वले सहयोग गर्न चाहेन । देशभरबाट दबाब आएपछि २०७५ भदौमा महासमिति बैठक राख्ने निर्णय भयो । भदौमा महासमितिको तयारी हुनै लाग्दा पार्टी नेतृत्वले ५ महिनापछि सारेर २०७५ पुसमा पुर्‍याई दिए । कांग्रेस नेतृत्वको यस्तो संस्कार र सभापतिको एकोहोरो व्यवहारले गर्दा २०७७ फागुनमा हुने भनिएको १४ औं महाधिवेशन पनि २०७८ भदौमा पुग्ने देखिन्छ । भदौको त्यो वर्षायाम र ८ महिनापछि हुने स्थानीय चुनावलाई हेरेर पनि केन्द्रीय समितिले बाध्य भएर सहमतिमै बहुमत केन्द्रीय सदस्यले १३ औं महाधिवेशनलाई नै १४ औं महाधिवेशनको वैधानिकता दिएर सभापति देउवालाई अर्को कार्यकाल सभापति हुने मौका दिनुपर्ने हुनसक्छ । पार्टीको नेतृत्वको अकर्मण्यताका कारण २०७४ को चुनाव हारिएको ठहर गरेर निराश भएका कांग्रेस कार्यकर्ताहरु अझ बढी निराशामा पुग्नेछन् । अर्को चुनावसम्म पनि यही नेतृत्व रहिरहने हो भने नेकपालाई २ तिहाई पु¥याउन कसैको साथ चाहिने छैन । यसकारण पनि गत पुस ११ को केन्द्रीय समितिको विवादास्पद निर्णय शंकास्पद समेत छ । महाधिवेशनको २ महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभागका हकमा ४ वर्षसम्म माखो नमार्ने, विद्यानमा २८ वटा विभागको व्यवस्था भएकोमा आफू खुसी १३ वटा थप गरी ४१ पुर्‍याउन बैठकमा एजेन्डा लैजाने, बैठकमा निर्णय गराउँदा १९ वटा थप गरेर ४७ पुर्‍याउने अलोकतान्त्रिक संस्कार नेपालमा सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाएर रेकर्ड बनाएका पूर्वप्रधानमन्त्री देउवाकै त होला । सभा समारोहमा साढे पाँच वर्षभित्र महाधिवेशन गराउँछु भन्नेले बैठकमा किन फागुनमा मिति तोकेको हो रु यही हो महाधिवेशन गराउन नखोजेको नियत र शंका गर्नुपर्ने अवस्था १ महाधिवेशनको कार्यतालिका घोषणा गरेकै हो भने नेविसंघ, तरुण दल, विभाग थप गर्ने तथा गठन गर्न आचार संहिताले दिन्छ रु यो त जंगबहादुर संस्कार भएन र रु सभापति देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदादेखिको उनको आचरण, व्यवहार, संस्कार हेर्दा समयमा महाधिवेशन गराउने र सबैलाई मिलाएर लैजान सक्छन् वा चाहन्छन् भन्नेमै धेरैलाई शंका छ । सभापति देउवा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा असफल भए । कमजोर चुनावी नतिजा, निरीह प्रतिपक्षीय भूमिका, विभिन्न भष्ट्राचार मुद्दामा आफैँ मुछिने देउवा बाहिर तल्लो तहमा सम्म कमजोर छन् । तर, भित्री केन्द्रीय तहमा भने आफूलाई बलियो बनाएका छन् । उनको विकल्पमा स्वाभिमानको राजनितिक संस्कार लिएर कोही नआउँदासम्म यही स्थिती रहनेछ । चौधौं महाधिवेशन सुनिश्चित गर्न, कार्यकर्ताको मनोबल बलियो बनाउन, पार्टी विधि विधानले सञ्चालन गर्न अधिनायकवाद उन्मुख नेकपा सरकारलाई ठेगानमा राख्न कांग्रेसभित्रका लोकतान्त्रिक संस्कार भएका नेताबाट मात्र सम्भव छ । नेपाली कांग्रेसभित्र हल्ला गरेजस्तो विभिन्न गुट उपगुट नभई अब दुईवटा समूहमात्र बलियो देखियो । १। यही नेतृत्व सभापति देउवाको विकल्प छैन । हिजो पनि ठीक थिए , आज पनि ठीक छन् । भोलि पनि ठीक हुनेछन् भन्ने दास मानसिकता बोकेको एउटा समूह । २। अनि अर्को चाहिँ नेपाली कांग्रेस लोकतान्त्रिक संस्कारमा लैजाने चाहने, कार्यकर्ताको भावना बुझेर पार्टी संचालन गर्न सक्ने, पद र पैसाको लागि जोसँग जे पनि सम्झौता गरेर पार्टी संगठन ध्वस्त बनाउन हुँदैन भन्ने मान्यता राख्ने राजनीतिक संस्कार र स्वाभिमान बोकेका नेताहरुको समूह । अहिलेको देउवा नेतृत्वले जंगबहादुर संस्कारलाई निरन्तरता दिँदै जाने हो भने भोलिका दिनमा महाभारत पाण्डुका पाँच छोरा पञ्च पाण्डव र कुरुवंशी राजा घृतराष्ट्रका छोरा दुर्योधनबीच भएको महाभारतको युद्धजस्तो लडाइँ काग्रेसभित्र हुने स्थिति नआओस् भन्ने लाखौं कांग्रेसीहरुको कामना छ । मनोनीत केन्द्रीय सदस्य छोड्ने हो भने देउवा पार्टीमा अहिले पनि अल्पमतमा छन् । बहुमत निवार्चित केन्द्रीय सदस्यहरुलाई पन्छाएर अल्पमतको शासन गर्न खोज्नु प्रजातान्त्रिक संस्कार होइन । कांग्रेसका प्रत्यक्ष निर्वाचित सांसदलाई हेर्ने हो भने पनि उनी संसदीय नेतामा रहन सक्ने हैसियतमा पनि छैनन् । पदको लागि जोसँग जस्तो पनि सम्झौता गर्न रुचाउनेलाई नैतिकता र संस्कारको पाठ पढाउन खोज्नु बेकार छ । संस्कार र नैतिकता विहीन नेता र सरकार प्रमुखले गर्दा नै देशमा आर्थिक, सामाजिक, प्रशासनिक र न्यायिक क्षेत्रमा समस्या आएको हो । चौधौं महाधिवेशनलाई सुनिश्चित गर्ने हो भने २०७७ को मंसिरभित्र केन्द्रीय महाधिवेशन र २०७७ को भदौभित्र स्थानीय तथा प्रदेशको अधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्छ । विद्यानविपरीत गरिएको केन्द्रीय विभाग थप गर्ने निर्णय बदर गर्नुपर्छ । - लामिछाने गणेशमान सिंह स्मृति पुस्तकालय, रूपन्देहीको अध्यक्ष हुनुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १५, २०७६ बुधवार - १७:५०:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology