परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने?
तपाईं आफु वा आफ्ना बालबालिकामा ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न कठिनाई भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। आफु कोभिड-१९को संक्रमण भएको स्थानमा गएको वा उक्त स्थानहरूमा पुगेका र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका अन्य कोहि सँग सम्पर्कमा आएको भएमा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष भेट्नु भन्दा पहिल्यै (फोन गरेर) जानकारी दिनुहोस्।
हात धुने उत्तम तरिका के हो?
- बगिरहेको पानीमा हात भिजाउने,
- भिजेको हातमा मनग्गे साबुन लगाउने,
- हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
- बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
- सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।
नियमित रुपमा हात धुनुहोस् – खासगरि खाना खानु भन्दा अगाडि, र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि।
यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैं साबुन पानीले हात धुनुहोस्।
यात्रा गर्दा आफ्नो परिवारका लागि के कस्तो सावधानी अपनाउन पर्ला?
वैदेशिक यात्रा गर्दा उक्त देशमा लागु गरिएको यात्रा सम्बन्धी निर्देशनहरू जस्तै प्रवेशमा निषेध, क्वारेन्टाईनको आवश्यकता आदिको अध्ययन गर्नुहोस्।
यात्राका क्रममा आफु र आफ्ना बालबालिकाले सरसफाईका विधिहरू अपनाउनु होस् – नियमित रुपमा हात धुने वा कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्ने, श्वासप्रश्वास सम्बन्धी असल व्यवहार अपनाउने (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई तत्कालै बन्द फोहोरदानीमा फाल्ने), र खोकिरहेका वा हाच्छ्युँ गरिरहेका व्यक्तिबाट टाढै रहने। यसका साथै जिवाणुनाशक जेल वा क्रिम (स्यानिटाईजर), एक पटक मात्र प्रयोग गरिने कागजी-रुमाल, र पुछ्न प्रयोग गरिने जिवाणुनाशक रुमाल अभिभावकले हरदम आफुसँग राख्नु होस्।
यसका अतिरिक्त बस वा हवाईजहाजमा बसिसकेपछि आफ्नो सिट, हात अड्याउने स्थान, छोएर प्रयोग गरिने स्क्रिन आदिलाई जिवाणुनाशक रुमालले सफा गर्नुहोस्। साथै आफु र आफ्ना बालबालिका बसेको होटल वा अन्य आवासमा प्रयोगमा आउने सतहहरू, ढोका खोल्ने ह्यान्डल, रिमोट-कन्ट्रोल आदिलाई जिवाणुनाशक रुमालले सफा गर्नुहोस्।
के गर्भवती महिलाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्छ?
हालसम्म उपलब्ध जानकारीका आधारमा गर्भावस्थामा आमाबाट बच्चामा यो भाइरस सर्ने वा नसर्ने तथा उक्त भाइरसले बच्चामा पार्ने असरका बारेमा पर्याप्त तथ्य उपलब्ध छैन। यस विषयमा हाल अध्ययन भइरहेको छ। गर्भवती महिलाहरूले भाइरसबाट जोगिन उपयुक्त सावधानी अपनाउनु पर्दछ र ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।
कोरोनाभाइरस बाट संक्रमित आमाले स्तनपान गराउनु सुरक्षित हुन्छ?
कोरोनाभाइरस प्रभावित तथा
यसको जोखिम भएका स्थानमा बसोबास गर्ने सबै आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ र प्राप्त सल्लाह अनुसार गर्नुपर्दछ।
स्तनपानको महत्व र भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई लाई ध्यानमा राख्दै स्तनपानलाई निरन्तरता दिन सकिन्छ। तर भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू भने अपनाउनु पर्दछ।
लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ जुन अन्य अवस्थामापनि कोभिड-१९ भएको शंकालागेका वा संक्रमित बालबालिका तथा वयस्कहरु सँग अन्तर्क्रिया गर्दा अपनाउनुपर्ने हुन्छ।
आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्दछ। -Unisef.org