मुग्लिन–पोखरा सडक खण्डमा तीव्र गति, चालकको थकान र वर्षाका कारण सडक चिप्लो हुँदा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएका छन्।
निर्माणाधीन सडकमा विशेष गरी बिहानपख चालक निदाउने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरी टोली बिहान ४ बजेदेखि नै सडकमा खटिन थालेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनाका मुख्य कारण पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न प्रहरी स्वयं सडकमा खटिएर निगरानी सुरु गरिएको हो।
अभियानअन्तर्गत प्रहरीले शुक्रबार बिहान ४ बजेदेखि ७ बजेसम्म ११७ वटा सवारीसाधनका चालकलाई सडकमा रोकेर सचेतना तथा परामर्श दिएको छ । तीमध्ये ६३ वटा ठुला सवारी, ३६ वटा साना चारपाङ्ग्रे र १८ वटा दुईपाङ्ग्रे सवारीसाधन रहेका छन् ।
प्रहरीले सडकको अवस्था हेरेर मात्र गति निर्धारण गर्न तथा वर्षात्को समयमा विशेष सतर्कता अपनाएर सवारी चलाउन सबै चालकलाई आग्रह गरेको छ ।यसअघि शुक्रबार दिउँसो व्यास नगरपालिका–१२ छिर्कनेमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका थिए ।