आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज अक्षय तृतीया मनाइँदै, यस्तो छ, शास्त्रीय मान्यता

आज अक्षय तृतीया मनाइँदै, यस्तो छ, शास्त्रीय मान्यता

नागरिक पाटी

१४, बैशाख २०७७
  • 7.6K
    SHARES
  • काठमाडौँ । प्रत्येक वर्ष वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने चलन छ । यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । “वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ”, उनले भने । आजका दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती भने यस वर्ष शनिबार नै मनाइएको छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको शनिबार बेलुकी तृतीया परेको समितिले जनाएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७७ आइतवार - १४:११:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology