काठमाण्डौं । नेपालको संविधान (दोस्रो) संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाको बैठकले सर्वसम्मत स्वीकृत गरेको छ ।
आज बसेका राष्ट्रियसभाका दुई वटा बैठकमध्ये पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो) संशोधन विधेयक, २०७७’ टेबुल गरेका थियो।
१५ मिनेट स्थगित गरेर फेरि बसेको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयक प्रस्तुत गरेकी थिइन् । त्यसपछि शुरु भएको सैद्धान्तिक छलफलमा सांसदहरूले नयाँ नक्सा जारी गर्नु ऐतिहासिक निर्णय भन्दै अब भूमि फिर्ता ल्याउने पहल गर्नुपर्ने बताएका थिए ।
विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै कानुन मन्त्री डा. तुम्बाहाङफेले प्रतिनिधिसभामा जस्तै सबैको एकमतले राष्ट्रियसभाबाट विधेयक पारित गरेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताइन् । सरकारले सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा अनुसार संविधानको अनुसूची ३ सच्याउन संविधान संशोधन विधेयक ल्याइएको हो ।