काठमाडौं । अजोड इन्सुरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । यसमा कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । जसमा भेरीभाई गर्दा ४ लाख ८४ हजार ४९८ जना योग्य आवेदकको संख्या रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसर्थ, आइपीओ हात पार्न भाग्यमा भर पर्नुपर्नेछ । गोलाप्रथा प्रणालीबाट आइपीओ बाँडफाँट हुनेछ ।
अजोडको आइपीओमा कुल योग्य आवेदकको संख्या ४ लाख ८४ हजार ४९८ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार २ लाख ७३ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २ लाख ११ हजार ४९८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
अजोडले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरीएको हो ।
अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । - नेपाली पैसा