काठमाण्डौं । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ। यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो। अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन्। योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
मन्त्रालयको दिएको जानकारी अनुसार कुल सङ्क्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्। त्यसैगरी दश लाख ९४ हजार ३७४ जना सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन्। भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ। ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।