महादेबबेशी । धादिङको थाक्रे गाउँपालिकामा बिश्व स्तनपान सप्ताहको अबसरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य र सुन्दर संसार, स्तनपान एकमात्र आधार भन्ने नारासहित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । विश्व स्तनपान सप्ताह सुरु भएको ६ औं दिन थाक्रेले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

त्यसैक्रममा उपाध्यक्ष अम्बिका रुपाखेतीले स्तनपान बच्चाको नैसर्गिक अधिकार भएको भन्दै गाउँपालिकामा पनि यसलाई जोड दिएर छुट्टै स्तनपान कक्षको समेत निर्माण गरिने बताउनुभयो।
थाक्रे गाउँपालिकाले अब बन्ने सबै भवनमा स्तनपान कक्ष बनाउने अध्यक्ष राम कुमार आचार्यले बताएका छन । उहाँले यसमा आमाको भूमिका सबै भन्दा बढि रहेको समेत बताएका छन।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बच्चाको स्वस्थ भबिष्यको लागी स्तनपान निकै महत्वपूर्ण रहेकाले आमाले यसमा बिषेश ध्यान दिनुपर्ने बताउनु भएको छ ।
शिशु जन्मेको १ घण्टा भित्र आमाको दूध खुवाउने, जन्मेदेखि ६ महिनासम्म स्तनपान मात्र गराउने, ६ महिना पुगेपछि स्तनपानसाथै पुरक खाना खुवाउने बारेमा सचेतना प्रदान गर्ने, स्तनपानका फाइदाहरु तथा स्तनपान नगराउँदा हुने समस्याहरुलाई जनसमुदायस्तरसम्म पु¥याइ सचेत गराउनु यस दिवसको मुख्य उद्देश्य रहेको स्वास्थ्य शाखा प्रमुखले जानकारी दिनु भयो ।
शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरुको साथमा आमाको दूध पनि खुवाउनु जरुरी हुन्छ। शिशुलाई आमाको दूध दिन र रात गरेर कम्तिमा पनि १० देखि १२ पटकसम्म खुवाउनु पर्दछ । दुवै स्तनबाट पालोपालो गरेर खुवाउँदा एक स्तनबाट कम्तिमा पनि १५ मिनेटसम्म खुवाउनु पर्छ। स्तनपान एउटा निःशुल्क गर्न सकिने जीवनको महत्वपूर्ण लगानी हो ।
विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाहरुले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।