धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी धुनिबेशी उपशाखाको आयोजनामा सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी धुनिवेशी उपशाखा धादिङका सभापति रामबाबु रेग्मीले बताए । कोरोना भाइरस कोभिड १९ को माहामारीमा रगत अभाव हुन नदिने उदेश्यले बिभिन्न ठाउँमा रेडक्रस तथा युवाको सक्रियतामा रक्तदान कार्यक्रम हुने गरेका छन् ।

रगत अभाव भएका ब्यक्ति जस्तै सुत्केरी महिला, दुर्घटनामा परेका ब्यक्ति लगायतलाई बिषेश प्राथमिकता दिएर अहिले रगत संकलन कार्य बिभिन्न स्थानमा हुने गरेका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण सामूहिक रक्तदान कार्यक्रम नहुने तथा मानिसहरुमा कोरोनाको त्रासले गर्दा आवश्यक मात्रामा रगत संकलन नहुँदा रगत अभाव भएको हो ।
आज गरिएको रक्तदान कार्यक्रममा १ सय २६ जनाको सहभागीता रहेको थियो । जसमा १ सय १४ जना पुरुष तथा १२ जना महिलाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धुनिवेशी उपशाखा धादिङका सभापति रामबाबु रेग्मीले जानकारी दिनु भयो ।
धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन भएको रक्तदान कार्यक्रममा उपप्रमुख निरु खरेल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सिना, बिभिन्न वडाका वडा अध्यक्षहरु, समाजसेवीहरु, पत्रकार तथा सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले रक्तदान नै जिवनदान हो भन्दै सबैले दान गर्न अनुरोध गरे । रगत एकपटक दिएर सकिने नभई स्वास्थ्य अबस्था हेरी समय समयमा रक्तदान गर्नु आफैलाई राम्रो हुने बताए । उनले अहिले कोरोना भाइरसको माहामारीमा रगत अभाव हुने बताउँदै सबै युवा तथा संस्था मिलेर रक्तदान कार्यमा सरिक हुन अनुरोध गरे ।