काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सय अंकित दरका ६३ लाख सेयर सर्वसाधारणका लागि निष्कासन गर्दै छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् ६३ करोड रुपैयाँबराबरको सेयर सार्वजनिक निष्कासन गरेपछि चुक्ता पुँजी दुई अर्ब १० करोड कायम हुनेछ ।
सार्वजनिक निष्कासन गरिने ६३ लाख कित्ता सेयरमध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि तीन लाख १५ हजार कित्ता सेयर, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सामूहिक लगानी कोषका लागि तीन लाख १५ हजार कित्ता सेयर र बाँकी ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गर्न लागेको हो ।
बिमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बिमा कम्पनीहरुमध्ये सर्वसाधारणमा सेयर निष्कासन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हुने प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।
कम्पनीले बजारको मागअनुरुप नयाँ तथा उत्कृष्ट बिमा योजनाहरु प्रतिस्पर्धात्मक बिमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखी कार्य गरिरहेको उनले बताए । साथै डिजिटाइजेसनलाई समेत आत्मसात् गर्दै आफ्नो सेवाको गुणस्तर थप वृद्धि गर्न लागि परेको कम्पनीले जनाएको छ ।
सिद्धार्थ बैँकलगायत प्रतिष्ठित घरानाहरुद्वारा प्रवर्द्धित रिलायन्स लाइफ इन्स्योरेन्सले २०७४ साउनदेखि जीवन बिमा व्यवसाय सञ्चालन गर्दै हाल १०० वटा शाखा,उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।