महादेबबेही । सहयोगी हातहरुको समूह(सहास) नेपालको इल्लिप परियोजनाले धादिङको थाँक्रे गाउँपालिकालाई मानविय सहायता अन्तर्गत खाद्यान्न राहतका लागी सहयोग हस्तान्तरण गरेको छ । कोरोना भाईरस कोभिड १९ का कारण दैनिक ज्यालामजदुरी गर्ने र छाक टार्ने अतिबिपन्न र असहाय ब्यक्तिहरुका लागी लक्षित गरि सहयोग हस्तान्तरण भएको हो ।
गाउँपालिकाले लिएको मानवीय सहायता सामाग्री सहयोग निति र आहन अनुसार एक द्धार प्रणाली मार्फत हुने गरि परियोजनाले ३ लाख ४३ हजार ७ सय ५० रुपैयाँ को चेक हस्तान्तरण गरेको छ । कार्यालयका प्रमुख प्रशासकिय अधिकृत,वडाअध्यक्षहरु,सहास नेपालका बित्त प्रशासन अधिकृत,प्राबिधिक अधिकृत समेतको उपस्थितीमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यलाई संस्थाको तर्फबाट परियोजना अधिकृत हरि प्रसाद अधिकारीले चेक हस्तान्तरण गर्नु भएको हो ।
संस्थाले बिपन्न,ज्यालामजदुरी गर्ने र असहाय परिवारमा गाउँपालिका मार्फत तत्कालीन खाद्यान्न सामाग्री पुगोस भन्ने उद्येश्यले यो सहयोग गरिएको बताउनुभएको थियो । सहास नेपालले नियमित कार्यक्रम अन्तर्गत कृषि खाद्यसुरक्षाका कृयाकलापहरु मार्फत गाउँपालिकाको “सम्बृद्ध थाक्रे र सुखी थाक्रेबासी” को अभियानमा सहयोग गरिरहनु भएको र अहिले कोभिड–१९ लक्षित कार्यक्रमहरु प्रशंसायोग्य रहेको थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले धन्यबाद ज्ञापन गर्नुभयो ।
उहाँले गाउँपालिका संग रहेको श्रोत र गैरसकारी संस्थामा रहेको सामुदायिक परिचालन सिप,प्राबिधिक सहयोगलाई संगै मिलाएर काम गर्न सक्दा धेरै प्रभावकारी हुने अनुभव गरिरहेको कुरा पनि अध्यक्ष आचार्यले बताउनुभयो । गाउँपालिका भित्रका बिपन्न समुदायमा पुगोस भन्दै संस्थाले हस्तान्तरण गरेको रकम बाट राहतका कार्यक्रम लैजाने कुरामा ढुक्क हुन बिस्वस्त पार्दै गाउँपालिकाको तर्फबात प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
सहास नेपालले यस अघि पनि ५० हजार रुपैयाँ रकम यहि प्रक्रिया अनुसार सहयोग गरिसकेको थियो । कोरोना भाईरस कोभिड १९ संग सम्बन्धित भएर समुदायमा सचेतनामुलक कार्यक्रमहरु निरन्तर संचालन गरिरहेको छ । यस अन्तर्गत सचेतनामुलक फ्लेक्स प्रिन्ट ११ वटै वडामा जम्मा ४१ वटा राखेको थियो ।
चेतनामुलक रेडियो सन्देश कार्यक्रम रेडियो राजमार्ग बाट नेपाली भाषा र कृषि रेडियो बाट तामाङ्ग भाषामा प्रशारण पनि गरिरहेको छ । यस्तै गाउँपालिका अन्तर्गत ११ वटै स्वास्थ्य संस्थामा श्वास्थ्य सामाग्री हस्तान्तरण , बिद्यालयमा हातधुने ब्यवहारीक अभ्यास र सहयोगका कार्य गरिरहेको छ ।