आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज इन्द्रजात्रा पर्व

आज इन्द्रजात्रा पर्व

नागरिक पाटी

१६, भाद्र २०७७
  • 18.6K
    SHARES
  • आज इन्द्रजात्रा पर्व

    फाइल तस्वीर।

    images

    काठमाडौं। वर्षा र सहकालका देवता इन्द्रको पूजा-आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं उपत्यका, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

    यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजाराधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा छ।

    पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    यसपाली भने कोरोना महामारीको असर हाम्रा अन्य सामाजिक तथा सांस्कृतिक परम्परालाई परेजस्तै इन्द्रजात्रा पनि अछुतो छैन। संक्रमणको जोखिम र निषेधाज्ञाका कारण इन्द्रजात्रा पर्वको रौनक छैन। इन्द्रजात्राको दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ। रासस

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०७:२१:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology