हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा सचिवालयको भवन आज बुधबार शिलान्यास भएको छ । तत्कालीन मध्यामाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा २ वर्ष १० महिनादेखि अस्थायी रुपमा बसिरहेको संसद भवन र प्रदेश सभा सचिवालयले बल्ल नयाँ भवन निर्माण सुरु गरेको हो ।
बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको निर्माण हुन लागेको हलको बुधबार शिलान्यास गरेका छन् ।
४ करोड ३७ लाखमा प्रदेश सभा हलको निर्माण सम्झौता भई बुधबारबाट काम सुरु भएको हो । २०७९ वैशाख २१ गतेसम्म हलको निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।
हेटौंडा १० टिसिएनमा बनिरहेको प्रदेश सभाहलमा २ सय ५० जना अट्ने क्षमता रहेको छ । सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ ।
शिलन्यास कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल्, उपसभामुख राधिका तामाङ, नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर बानियाँलगायत प्रदेश सभाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।