काठमाडौं । कुमारी बैंकले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले मंसिर २९ गते २० औं वार्षिक साधारण सभा सम्पन्न गरी १० दशमलव ८५ प्रतिशत बोनस शेयर र कर समेत गरी ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । सभाले कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालन समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४९ हजार रहेको छ ।
१० दशमलव ८५ प्रतिशत बोनस शेयर पश्चात यो पूँजी रू। १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार पुग्नेछ । उक्त कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ६० करोड २५ लाख ४३ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ४० करोड १९ लाख ८८ हजार थियो । यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा वृद्धि भएको हो ।
गत वर्ष रू. ५६ करोड ६२ लाख ९४ हजार सञ्चालन नाफा गरेको उक्त कम्पनीले यो वर्ष रू. ८६ करोड ५ लाख सञ्चालन नाफा गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. २५ करोड ९१ लाख रहेको छ ।
कम्पनीको जगेडा कोषमा रू. ३ अर्ब ५९ करोड ४३ लाख ३८ हजार र रिटेन्ड अर्निङमा रू. १ अर्ब ६७ करोड ४ लाख २४ हजार छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १ खर्ब १७ अर्ब २ करोड निक्षेप संकलन गरेर रू. १ खर्ब १० अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव २५ र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव शून्य ५ रहेको छ ।