एजेन्सी । भारतको नयाँ दिल्लीस्थित इजरायली दूतावासनजिकै शुक्रबार साँझ बम विस्फोट भएको छ। एपीजे अब्दुल कलाम रोडस्थित दूतावास रहेको स्थानबाट १ सय ५० मिटर दूरीमा साँझ ५ बजेर ५ मिनेट जाँदा विस्फोट भएको दिल्ली प्रहरीले जनाएको छ।
विस्फोटका कारण दूतावासमा कुनै क्षति नपुगेको इजरायली विदेशमन्त्री गाबी अशकेनाजीले पुष्टि गरेका छन्। घटनास्थलमा सुरक्षाका सम्पूर्ण उपाय अपनाइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।
अशकेनाजीसँग कुराकानी गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले उक्त घटनालाई गम्भीर रूपमा लिएको बताए। भारतीय विदेशमन्त्री जयशंकरले इजरायली दूतावास र त्यहाँका कूटनीतिज्ञलाई पूर्ण सुरक्षा दिँदै घटनाका दोषीको खोजीमा कुनै कमी नराख्ने प्रतिबद्धता जनाए।