धादिङ । सरकारले कोभिड १९ विरुद्धको खोप सबै नेपाली नागरिकलाई निःशुल्क उपलब्ध गराउने गरी सरकारले व्यवस्थापन गरिरहेको जनाएको छ ।
आज बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपाली नागरिकलाई निःशुल्क उपलब्ध हुने र भारतले उपलब्ध गराएको बाहेक बाँकी खोपको व्यवस्थापन सरकारले गरिरहेको जानकारी दिए ।
उनले आपूर्ति सहज हुने अनुसार सोझै खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको जानकारी दिए । ‘कोभिडशिड’ खोप उत्पादक कम्पनीसँग वार्ताद्वारा निर्धारण गरिएको मूल्य र रकम भुक्तानीको शर्त बमोजिम खोप खरिद गर्न लाग्ने रकम नेपाल राष्ट्र बैंकमार्फत भुक्तानी हुनेगरी २० लाख डोज कोभिड खोप सिधै खरिद गर्ने सक्ने गरी बाधा अडकाउ फुकाउनका लागि आदेश जारी गर्ने निर्णय भएको उनले बताए । गुरुङले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ‘समृद्धिका लागि सञ्चार’ नारा प्रस्ताव गरिएको जानकारी दिए ।