खानिखोला । धादिङको धुनिबेशी ७ खानिखोलामा मच्छिन्द्र आवासिय छात्रावासको उद्घाटन गरिएको छ । धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले शुक्रबार एक कार्यक्रमका बिच सामुदायिक विद्यालयहरु मध्ये जिल्लाकै पहिलो छात्रावासको उद्घाटन गर्नुभएको हो ।
५० बेडको क्षमता रहेको छात्रावासमा माघ महिनाबाट नै ४८ जना विद्यार्थीहरु बसोबास गरिरहेका छन् । मच्छिन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीका अनुसार छात्रावासमा १३ जना छात्र र ३५ जना छात्रा बसोबास गरिरहेका हुन् । उहाँका अनुसार विकट स्थानमा घर भएका, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावासमा राख्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाको सहयोगमा सञ्चालन भएको छात्रावासमा हुने खर्च व्यवस्थापन नगरपालिकाले गर्ने छ भने विद्यालयको भौतिक वातावरण राम्रो बनाउन नगरपालिका प्रतिवद्ध रहेको कार्यक्रममा बताईएको छ । कार्यक्रममा नगरपालिकाका उपमेयर निरु खरेल, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

यसैबिच सिविन नेपालले ७५ जना बालबालिकालाई आपतकालिन, खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ । विपन्न विद्यार्थीलाई सहयोग गरिएको मचिन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।