धादिङ । धादिङको गजुरी गाउँपालिकामा सिकाई उपलब्धि बृद्धिको लागि शैक्षिक सुधार अभियान सञ्चालज गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताउनुभयो । बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरेको भन्दै अध्यक्ष बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला आएको बताउनुभएको छ ।
गजुरी गाउँपालिका बालमैत्री स्थानीय शासनको ३९ वटा सुचकहरु पुरा गर्दै बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । शनिबार गजुरी–५ कर्कले स्थित सरस्वती आधारभुत विद्यालयमा विद्यालय विकासमा सरोकारवालाको भुमिका विषयक २ दिने अन्तरक्रिया कार्यक्रम समापनको अवसरमा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभएको हो । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल विकास कार्यक्रम गजुरी गापा, प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारी तथा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा कार्यशाला सम्पन्न भएको हो ।
गजुरी गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,प्रधानाध्यापक ,शिक्षक र बिद्यार्थी लगायत सरकारवालाहरुको काम,कर्तव्य र भुमिका र उत्तरदायित्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु,आचार संहिता ,बिद्यालय आर्थिक पारदर्शिता,बाल अधिकार ,बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मजभुत बनाउने तौरतरिका लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहजिकरण गर्नु भएको थियो।
बालबालिकाहरुको मस्तिष्कको ९० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास तथा बिशेश गरि कक्षा ३ सम्मका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालामा सहयोग गरिएको कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।
सरस्वती आधारभुत बिद्यालयको आयोजनामा भएको कार्यशालामा बिद्यालयमा किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार सहजिकरण गर्ने तरिका , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह , अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका सहजिकरण गरिएको थियो ।
कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्य योजना र बिद्यालयका सबै सरोकारवालाहरुको लागि आचार संहिता तयार गरि लागु गर्ने प्रतिबद्धता गरिएको बिद्यालय प्रधानाध्यापक शिव प्रसाद न्यौपानेले बताउनु भयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त डुवाडीको अध्यक्षतामा चैत्र ५ देखि शुरु भएको कार्यशालामा समापन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरे ,शिक्षा अधिकृत भिमसेन बिष्ट ,गजुरी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामचन्द्र मिजार ,महिला बालबालिका अधिकृत सरस्वती सिलवाल,प्रयास नेपाल धादिङका अध्यक्ष कार्यक्रम संयोजक सहदेव पण्डित लगायतको उपस्थिति रहेको रेनुका रुपाखेतिले जानकारी दिनुभयो ।