आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विश्व पानी दिवस मनाइँदै

विश्व पानी दिवस मनाइँदै

नागरिक पाटी

९, चैत्र २०७७
  • 10.6K
    SHARES
  • विश्व पानी दिवस मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

    images

    यस वर्षको पानी दिवसको नारा ‘मूल्यवान पानी’ रहेको छ । हामीले यसका लागि जति मूल्य तिर्छौं, त्योभन्दा बढी स्वच्छ खानेपानीको महत्व छ भन्ने तथ्य आम नागरिकलाई बुझाउनुपर्ने यथार्थलाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसङ्घले यो नारा तय गरेको जनाइएको छ ।

    पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसका लागि मात्र नभई सबै जीव र वनस्पतिको जीवनको आधार हो । चेतनशील प्राणीका रुपमा मानवको जीवनका क्रियाकलाप पनि पानीमा निर्भर रहन्छन् । हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ । पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतसमेत प्रदूषित भएका छन् । स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो ।

    संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ । यसअन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ । दिवसका अवसरमा नेपालमा पनि सरकारी, सामाजिक र निजी क्षेत्रबाट पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको जनाइएको छ । रासस

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - १४:१७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology