काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) अहिलेसम्मको उच्चबिन्दूको नजिक आइपुगेको छ । यो साताको अन्तिम कारोबार दिन, बिहीबार नेप्से परिसूचक १२.८८ अंकले बढेर २,६३१.८९ अंकमा पुगेको छ ।
नेप्से परिसूचक फागुन ९ गते अहिलेसम्मकै उच्च बिन्दूमा २,६४०.३५ अंकमा पुगेको थियो । यो साता भने नेप्से लगातार बढेको छ । यो साता सोमबारदेखि बिहीबारसम्म नेप्से ८८.३७ अंकले बढेको छ ।
नेप्सेमा बिहीबार होटल एण्ड टुरिजम, जीवन बीमा, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूहका परिसूचकबाहेक अन्य सबै समूहका परिसूचक उकालो लागेका छन् ।
नेप्सेमा दैनिक कारोबार रकम पनि बढेर ७ अर्ब रुपैयाँ नाघेको छ । बिहीबार नेप्सेमा २१८ कम्पनीको ७ अर्ब २५ करोड रुपैयाँ मूल्यका १ करोड ४३ लाख ९० हजार चार सय ४७ कित्ता सेयर ७४ हजार दुई सय ८ कारोबारमार्फत् किनबेच भएको छ । यससँगै बजार पुँजीकरण ३६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।