डा. रविन्द्र पाण्डे, जनस्वास्थ्यविद् ।
कोरोना भाइरसको संख्या दिनप्रतिदिन बढीरहेको छ । यो समय होम आइसोलेसनमा रहनेको संख्या अत्याधिक भएकोले घरमा बसेका संक्रमितले के गर्ने र के नगर्ने भन्नेबारे सुझाव यस्तो छ ।
– शरीरको तापक्रम समय–समयमा जाँचिरहने । १०० डिग्री भन्दा माथि ज्वरो छ भने पारासिटामोल खानुपर्छ । शरीर दुख्ने, टाउको दुख्ने जस्ता समस्या भएमा पनि पारासिटामोल खान सकिन्छ ।
– कोठाभित्र बस्दा संक्रमण अरुमा नफैलियोस् भनेर ढोका बन्द गर्नुपर्छ । तर, कोठामा हावा आवतजावत गर्नका लागि भेन्टिलेसन भएको कोठामा बस्नुपर्छ ।
– अक्सिमिटरबाट बेला–बेलामा अक्सिजनको लेभल नापिरहनुपर्छ । अक्सिजन लेभल ९४ भन्दा कम भयो भने केही बेर घोप्टो परेर सुत्नुपर्छ ।
– भिटामिन सी दिनमा २ पटक, जिंक २ पटक र भिटामिन डी हप्ताको १ पटक खानुपर्छ । लक्षणअनुसार पारासिटामोल, कफ सिरप पनि खान सकिन्छ ।
– अक्सिजनको स्तर जाँच नगरी अक्सिजन लिएर बस्नुहुँदैन । किनभने अक्सिजनले मात्र संक्रमण मुक्त भइने होइन ।
– घरमा एकजना संक्रमित भएमा सबैले परीक्षण गर्नुपर्छ । किनभने कसैलाई लक्षण नदेखिन पनि सक्छ ।
– खानाका साथै फलफूल, दूध, गेडागुडी, अण्डा, झोलिलो खानेकुराहरु प्रशस्त मात्रामा खानुपर्छ ।
– हल्का व्यायाम, योग र ध्यान गर्ने । पर्याप्त निन्द्रा तथा बिहानको घाम ताप्नुपर्छ ।
– मानसिक रुपमा स्वस्थ रहने । अनावश्यक आत्तिने तथा डराउने गर्नुहुँदैन ।
– पानीको बाफ लिँदा आराम महशुस हुनसक्छ । त्यसैले बिहान बेलुका तातो पानीको बाफ लिने ।
– मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, पिपला तथा कागतीको रस राखेको चिया पटक–पटक खानुपर्छ ।
– एक रातमै स्वास्थ्य अवस्था गम्भीर हुन सक्छ । त्यसैले गाह्रो भएपनि भोलि अस्पताल जान्छु भनेर बस्नुहुँदैन ।