आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्राकृतिक विपत्ती र जनप्रतिनिधीको कार्यक्षमता माथी प्रश्न

प्राकृतिक विपत्ती र जनप्रतिनिधीको कार्यक्षमता माथी प्रश्न

नागरिक पाटी

१९, आषाढ २०७८
  • 6.8K
    SHARES
  • प्राकृतिक विपत्ती र जनप्रतिनिधीको कार्यक्षमता माथी प्रश्न

    ✍️ अम्बिका रुपाखेती

    images

    मनसुनको शुरुवातसंगै केहि दिन देखिको अविरल पानीका कारण आग्रा खोलामा ठूलो वाढी आई गए राती (असार १८ गतेको रात) सिम्लेको महेश खोलामा केहि दिन अघि ढलान गरिएको पक्की पुल बगाएको छ । पुल बगाएसंगै स्थानिय वासीहरुको यो वर्षायाममा पक्की पुलवाट ओहोरदोहोर गर्ने सपना पनि हालको लागि बगाएको छ भने सरकारका लागि यो वर्ष नै थप १ वटा पक्की पुलको निर्माण सम्पन्न गर्ने योजना विफल भएको छ । पानीको वहावलाई अन्यत्रबाट कटाएर सकेसम्म पुल जोगाउन स्थानियवासीहरुले गरेको प्रयास निरर्थक भएको छ । यो हामी सबैको लागि दुःखको कुरा हो । प्राकृतिक विपत्ति सुचना दिएर वा सधै एकैठाउँमा उस्तै तहरले आउने विषय होइन । त्यसैले यी र यस्ता विपत्तीबाट हुन सक्ने क्षतिको पूर्वाअनुमान पनि जस्ताको तस्तै गर्न सकिंदैन, परिणाम स्वरुप यो वर्ष हाम्रो लागि निकै चुनौतिपूर्ण बन्दैछ र २०५० साल पछिको यो ठूलो वाढीको क्षति यतिवेला वेहोर्नु परिरहेकोे छ । यससंगै अझै कति धनजनको क्षति वेहोर्नु पर्ने हो त्यसको एकिन छैन तथापी अहिले सम्म मानविय क्षति भएको छैन, थप धनजनको क्षति नहोस् भनेर सम्पूर्ण जनप्रतिनिधि, क्रियाशिल युवाहरु, कर्मचारीहरु एवं आमसरोकारवालाहरुले संयुक्त रुपमा पर्याप्त सावधानी अपनाईरहेका छौं र अझै अपनाईरहनु पर्नेछ ।

    यही क्रममा वाढीले भत्काएको पुललाई लिएर केहि साथीहरुले सामाजिक संजालमा स्थानिय जनप्रतिनिधिहरुको कार्य क्षमता माथी प्रश्न उठाईरहनु भएको छ । क्षतिपूर्तिको कुरा उठाईरहनु भएको छ यसले हाम्रो ध्यानाकर्षण भएको छ । विपत्तिको समयमा नागरिकको मनमा अनेक प्रश्न एवं जिज्ञासा उठ्नु, कौतुहलता हुनु अस्वभाविक होईन तर सबै समस्या स्थानिय जनप्रतिनिधि नै हुन् भन्ने विश्लेषण किन भईरहेको छ भन्नेमा २ वटा पक्षले काम गरेको हुन सक्छ ः एउटा अपजसको भागिदार स्थानिय जनप्रतिनिधिलाई मात्र बनाउनु पर्छ भन्ने सोचले काम गरेको हुन सक्छ अर्को स्थानिय नागरिकहरुले स्थानिय सरकारप्रति मात्र पूर्ण भरोसा गरेको हुनुपर्छ । जे भएपनि घरदैलोको सरकारका रुपमा हाम्रो स्थानिय तहले लिनुपर्ने जिम्मेवारी र जसअपजसबाट हामी पन्छने छैनौं ।

    207628040_4177629828992865_5389806511359539093_n.jpg

    हामीले स्थानिय सरकारको जिम्मेवारी प्राप्त गरी कार्य प्रारम्भ गरेबाट नै नेपालको सार्वजनिक खरिद ऐन र यसका प्रकृयाका बारेका सबै तहहरुका सबै सरोकारवालाहरुका विचमा समस्याको जानकारी पटक पटक गराएका छौं । देशमा धेरै वटा राजनीतिक व्यवस्था परिवर्तन भए, हिजोको हुलाकी युगवाट डिजिटल युगमा प्रवेश गर्यौं, कुटो कोदालोको भरमा भौतिक संरचना निर्माण गर्ने अवस्थाबाट आज अत्याधुनिक मेसीनरी औजार प्रयोग गर्ने प्रविधि अवलम्वन गर्ने गरीरहेका छौं तर आज पनि आयोजनाको ठेक्का प्रणालीमा खासै सुधार आएको छैन । यसैको प्रमाण हो यो पुल समयमा सम्पन्न हुन नसक्नुको कारण जो हामीले भोगिरहेका छौँ । आयोजनाको ठेक्का लगाउने निकाय र विधिपूर्वक ठेक्का सम्झौता गरी कार्यान्वयको जिम्मेवारी पाएका ठेकेदार कम्पनीहरुले एकपछि अर्को गर्दै ठेक्का सार्दै जानु, ठेक्का लिने कम्पनीहरुले काम गर्न पाएको रकम अन्यत्रै लगानी गरी नाफा कमाउने भाँडोको रुपमा प्रयोग गर्नु, आर्थिक एवं भौतिक सामाग्री एवं ढुवानी आदीको वाहानामा आयोजना अल्झाईरहनु, एउटा आयोजना सम्पन्न नगर्दै अनेक आयोजनामा संलग्नता रहनु त देखिने र भोगिने समस्या नै भए । यस वाहेक समयमा कार्य सम्पन्न गर्न कहाँकहाँ कमजोरी भयो यसको समिक्षा सम्बन्धित निकायले नै गरोस् । हामीले हाम्रो गाउँपालिका क्षेत्र भित्र संचालन गर्ने आयोजनामा सकेसम्म छीटो योजना कार्यान्वय गर्न र स्थानिय स्तरमा आउने विवादहरु समाधानका लागि लगातार प्रयास गरेकै हौं । पुल ढलानका लागि तयारी गरी जडान गरीसकेका रड र पाइपहरु सहितको वेसलाई त्यसै खिया लगाएर छोड भन्न र स्थानीयवासीहरुको वर्षायाममा पुलबाट आपतजावत गर्ने सपनालाई विचमा छोडेर यो असार महिनामा पुल ढलान नगर्नु भनेर यो वर्ष पनि आदेश दिने नैतिक र कानुनी अधिकार हामीसंग थिएन किनकी अघिल्लो वर्ष वर्षाको कारणले रोकिएको जानकारी छ । त्यसैले तयारी अवस्थामा रहेको पुलको ढलान सकेसम्म छिटो सकेर पक्की गर्नु हामी सबैको एकमात्र उद्धेश्य रहेकोले सम्पूर्ण स्थानियवासी एवं सरोकारवालाहरु समेतको उत्साहजनक सहभागितामा नै ढलानको कार्य सम्पन्न भएको अवगत नै छ ।

    जे नहुनु थियो भईसक्यो अब यसबाट शिक्षा लिने हो, यसको जिम्मेवारी लिने हो र फेरी अवस्था सहज भएपछि पुर्ननिर्माणको काम गर्ने हो । यसका लागि यो आयोजनाको ठेक्का लगाउने, ठेक्का सम्झौता गर्ने, यसको अनुगमन र नियमनको जिम्मेवारी पाएका निकायबाट जिम्मेवारी पूरा हुनेछ भन्ने विश्वास गरेका छौं । विभिन्न कारणले आयोजना कार्यान्वयनमा हुने क्षति र समस्याहरु समाधानका लागि आयोजनाको विमा गर्ने कार्य अनिवार्य गरिएको हुन्छ । यसैबाट यो आयोजना पुननिर्माण अविलम्ब गर्न सम्वन्धित कम्पनीहरुलाई सचेत गराउदै सहजीकरण गर्न स्थानिय सरकारको हैषियतमा कमी हुन दिने छैनौं । हाल भएको क्षति र यसको सम्बन्धमा स्थानिय सरकारको रुपमा लिनु पर्ने जिम्मेवारीप्रति पूर्ण प्रतिवद्ध रहेको सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौं । यी र यस्ता आयोजना कार्यान्वयनका सन्दर्भमा हुने ढिलासुस्ती र अटेरीलाई प्रोत्साहन गर्ने निति नियमहरुको खारेजी एवं संशोधनका लागि नीति निर्माणको जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्ण तह र तप्काका अग्रजहरुलाई यस विषयमा पर्याप्त छलफल र गृहकार्य मार्फत ठोस परिणाम ल्याउन तर्फ अग्रसर हुन हार्दिक अपिल गर्दछौं ता कि हामीले भोगेको जस्तो क्षति र अपजस अरु कसैले भोग्नु नपरोस् ।

    अन्त्यमा, सम्पूर्ण गाउँपालिकावासीहरुमा यस विपद्को समयमा आफुलाई संयमित र सुरक्षित राख्न सक्ने सामथ्र्य प्राप्त होस् भन्ने कामना गर्दछौं । समस्यामा परेका व्यक्ति वा परिवारमा सामुहिक एकता र सहयोगको आदानप्रदान गरी मानविय भाव प्रकट गर्न सकौं । हालको यो विषम् परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण शक्ति जनधनको रक्षाका लागि जुटौं । विकास निर्माणका तमाम विषयमा परिस्थिती सहज भएपछि वस्तुनिष्ठ समिक्षा गरौंला । बाढी र पहिरोका कारण विद्युत लाईन अवरुद्ध हुन सक्छ त्यसैले सुचना तथा संचार माध्यमहरुको अत्यावश्यक मात्र प्रयोग गरौं र गर्न लगाऔं । बाटो अवरुद्ध भएको र सबैतिर जोखिम बढीरहेकोले हामी सबै टोल टोलमा एकै पटकमा आइपुग्न सक्ने अवस्था छैन । त्यसैले थाक्रे गाउँपालिकाको भोलिन्टीएर बंैकका सम्पूर्ण सदस्यहरु तथा टोल टोलका अगुवा एवं सचेत वर्गहरुले समयमा नै समस्या एवं आवश्यक जानकारी उपलब्ध गराई सहयोग पुर्याउनु हुन हार्दिक अनुरोध गरिन्छ ।

    लेखक रुपाखेती थाक्रे गाउँपालिका धादिङको उपाध्यक्ष हुनुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - १३:३९:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology