काठमाण्डौँ । युनियन लाइफ इन्स्योरेन्सको साधारण शेयर निष्काशन भएको पहिलो दिन साढे ४ लाखभन्दा बढीले आवेदन दिएका छन् । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्ममा इन्स्योरेन्सको साधारण शेयरमा ४ लाख ६१ हजार ३५६ वटा आवेदन परेको हो । उल्लेखित आवेदनबाट ८२ लाख ४७ हजार ८८० कित्ता शेयर माग भएको सिडिएससीले जनाएको छ ।
इन्स्योरेन्सले सर्वसाधरणका लागि एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गरेको हो । निष्काशित शेयर संख्याभन्दा झण्डै १९ लाख कित्ता धेरै शेयर निष्काशन सुरु भएको पहिलो दिनमा नै माग भएको हो ।
इन्स्योरेन्सले निष्काशन गरेकोे कुल ६४ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता संस्थाका कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएकोे छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।
उक्त आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।