पछिल्लो ३ महिनामा ८२ दिन हामी संयुक्त अनुगमन टोली धादिङका धेरैजसो बजारमा अनुगमनका लागि निस्कियौं । नेतृत्वमात्र मेरो हो । काम गर्ने र हौस्याउने अरु धेरै जना छन् । किराना पसलबाट सुरु भएको अनुगमन क्रमशः औषधि पसल, डेरी, बेकरी उद्योग, मासु पसल हुँदै अहिले होटलसम्म आइपुग्दा ७०१ ओटा फर्म अनुगमन गरिसकेछौं । जरिवानामात्रै १०० ओटालाई भएछ । त्यसबाट राज्यलाई प्राप्त राजस्वः १० लाख ६० हजार । १६ लाख बराबरका म्याद गुज्रिएका सामग्री जफत गरिएछ । उपभोक्ता सचेतना बढेको महसुस भएको छ । आएको गुनासो ढिलो चाँडो सम्बोधन गर्ने प्रयास गरेका छौं । सोही सन्दर्भमा आजको १००औं कारबाही विशेष रहेकोले सेयर गर्न चाहेँ ।
२०७७।१२।२६ गते हेलो सरकारमा एउटा गुनासो टिपाइयोः हाइवेको पल्पसा क्याफे नामक होटलले उपभोक्तामैत्री व्यवहार गरेन र बढी मूल्य लियो भन्ने । माग थियो तुरुन्त अनुगमन गरेर कारबाही गर्नुप¥यो भन्ने ।
हेलो सरकारमार्फत उक्त गुनासो सोही दिन जिल्ला प्रशासन कार्यालय, धादिङलाई आवश्यक कारबाहीको लागि पठाइयो । प्रशासन कार्यालयमा नयाँ सहायक सिडिओको रुपमा मलाई भर्खर मात्रै वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागबाट निरीक्षण अधिकृतको जिम्मेवारी प्राप्त भएको थियो । तर कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण निरीक्षण, अनुगमन सुरु गर्न सकिएको थिएन । पछि निषेध आदेश जारी भएपछि होटल तथा खाजाघरहरु सबै बन्द गरिए । बाँकी बजार अनुगमन भने सुरु भयो ।
केही दिनअघि होटलहरु खुल्न थालेसँगै हाइवेका विभिन्न ठाउँमा होटल अनुगमन गर्न पनि सुरु भयो । यही क्रममा मिति २०७८।०४।२५ गते चार महिना अघिको लिखित उजुरी अनुसार स्थलगत अनुगमन गर्न धुनिबेशी-६, नौबिसेमा रहेको "न्यू पल्पसा क्याफे साइड"मा पुग्दा यस्तो पाइयोः
क्याफेले अखाद्य (कुहिएको) आलु प्रयोग गरेको थियो । मूल्यसूची राखेकै थिएन । बिक्री बिल प्रयोग गर्दै नगरेको । भान्छा तथा अन्य होटलको सरसफाईमा ध्यानै नदिएको । कोभिड-१९ को जोखिम बढिरहँदा समेत स्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा कामदारको सुरक्षाप्रति पूर्ण बेवास्ता ।
क्याफेलाई रू। १० हजार नगद जरिवाना गरियो । संयोग के भने, बजार अनुगमनको यो १००औं कारबाही हो । कारबाही गरिएको जानकारी उजुरीकर्तालाई मैले फोनबाट गराइसकेँ । धन्यवाद समेत दिएँ एउटा सचेत नागरिकको भूमिका निभाउनु भएकोमा ।
कारबाहीमात्र सबै थोक होईन यद्यपि जरिवानासँगै हामीले होटल सञ्चालकलाई गर्नुपर्ने सुधारको बारेमा मौखिक र लिखित निर्देशन पनि दिएका छौं । सुधार्छौं भन्नुभएको छ । आशा छ, सुधार हुनेछ । अन्तिममा भन्न चाहेः "हामी थाकेका छैनौं, हामीलाई उजुरी गर्नुहोस् । तपाईको गुनासो सुन्नको लागि मेरो मोबाइल नं. ९८५११९६१३१ जतिबेलै खुल्ला छ ।" जय उपभोक्ता !
नियमित बजार अनुगमन सम्बन्धी विचार हेर्नुहोस्