आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बाबु-आमाको सपना पूरा गर्न विदेशिएको एक्लो छोरा खुट्टा गुमाएर फर्किएपछि...

बाबु-आमाको सपना पूरा गर्न विदेशिएको एक्लो छोरा खुट्टा गुमाएर फर्किएपछि...

नागरिक पाटी

१३, भाद्र २०७८
  • 5.7K
    SHARES
  • बाबु-आमाको सपना पूरा गर्न विदेशिएको एक्लो छोरा खुट्टा गुमाएर फर्किएपछि...

    गोरखाको भीमसेन थापा गाउँपालिका-२ तान्द्राङका केशव लामिछाने मनमा सानैदेखि एउटै सपना थियो, ‘बाचुन्जेल बा-आमालाई सुखसँग पाल्ने’ ।

    images

    पाँच छोरी जन्माएपछि केशवलाई बा-आमाले बुढेसकालमै जन्माए । २०५५ सालमा केशव जन्मिँदा उनकी आमा (छलिमायाँ) ४५ बर्ष र बा (अग्नीधर) ५५ बर्ष पुुगिसकेका थिए ।

    सामान्य गरिब परिवारमा जन्मिएपनि रहरमा पाएको कान्छो सन्तान (छोरा) भएरै होला केशवलाई बा-आमाले सकुन्जेल कहिल्यै दुख कटाएनन् । क्षमताले भ्याउँदासम्म केशवको हरेक रहरहरु पूरा गर्दिन्थे । त्यसैले होला केशव सोच्थे, ‘म ठूलो भएपछि बा-आमालाई एक रति दुख गर्न लगाउन्न ।’

    ‘घरको एक्लो छोरा गरिब परिवारमै जन्मेपनि सुखसँगै हुर्के । बा-आमाले सकेको सुख दिनुभयो । त्यसैले पनि होला सानैदेखि ठूलो भएपछि जति दुख गर्नुपर्छ म गर्छु । तर, बा-आमालाई दुस्ख गर्न दिन्नँ । उहाँहरुको सबै सपना, रहरहरु पूरा गर्छु भन्ने सोच आउँथ्यो’, केशव भक्कानिन्छन् ।

    केशवले कक्षा १० सम्म गाउँकै सरकारी स्कुलमा पढे । जसोतसो कक्षा १२ सम्म पढ्न पाए राम्रै काम पाइन्छ भन्ने सोचे अनि गोरखा सदरमुकाममा रहेका जेठो भिनाजुको घरमा बसेर कक्षा ११ मा पढ्न थाले ।

    उनी सदरमुकाम पढ्न थालेपछि खर्च जुुटाउनै सकस हुन थाल्यो । घरको आयस्रोत अत्यन्तै न्यून भएपछि लामछिाने २०७५ सालको असार महिनामा रोजगारी खोज्दै भारतको पन्जाबमा पुगे ।

    पन्जाब पुगेपछि उनी ग्रिल उद्योगमा काम गर्न थाले । मासिक करिब २२ हजार तलब बुझ्थे । त्यहाँ पुगेको दुई महिनासम्म उनले घरमा नियमित पैसा पठाए ।

    छोराले कमाई गरेर महिनैपिच्छे पैसा पठाउन थालेपछि बुढा बा(आमा खुसीले दंग थिए । उनीहरुलाई लाग्थ्यो, ‘अब हाम्रो दुखको दिन सकियो, सखका दिन आयो’ ।

    तर, यो परिवारमा भर्खरै झुल्किएको खुसीका किरणहरु लामो समय टिक्न सकेन । पन्जाब पुगेको तीन महिना नबित्दै केशव दुर्घटनामा परे ।

    ‘पैसा कमाएर बुढेसकाल लागेका बाबुआमाको सहारा बन्छु भनेर पढाई छाडेर भारत पुगेँ, अहिले आफैँलाई साहारा आबश्यक पर्ने भएको छ’, केशव दुखेसो सुनाउँछन् ।

    बैशाखीको सहारा लिनुपर्ने भएपछि....

    बुढेसकाल बा-आमाको सहारा बन्ने सोचेर पन्जाब पुगेका उनले दुर्घटनामा परेपछि एउटा खुट्टा गुमाए । अहिले उनैलाई बैसाकीको सहारा नभई हुन्न ।

    उनको बुबाको पनि एउटा खुट्टा नशाको रोगका कारण चल्दैन, आमा पनि दमको रोगी । घरमा उनी, उनका बृद्ध बा-आमा मात्रै छन् ।

    बा-आमाले कमाउन नसक्ने भएपछि कक्षा ११ मा पढ्दापढ्दै चटक्क छाडेर कमाउन गएका उनी नै दुर्घटनामा परेपछि उनको सम्पूर्ण परिवार नै सहाराविहीन बनेको छ ।

    लामिछानेको बुबाले आँखाभरि आँसु बनाउँदै दुुस्ख सुनाउँछन्, ‘कान्छो ९केशव० भारत जानुभन्दा अघिल्लो सालसम्म म आफै त्यही भारतमा नै मजदुरी गरेँ, त्यसैले परिवार पालेँ । छोरोले बा अब म ठूलो भएँ, तपाईहरु कति दुख गर्नुहुन्छ ? अब म कमाउँछु तँपाई घरमा बसीबसी खानु भन्यो । अनि जान छाडेँ ।’

    उनी टक्क रोकिन्छन् अनि थप्छन्, ‘हामीलाई सुख दिन भनेर भारत गएको छोरो डुडो भएर फर्कियो । खै के भनौँ ।’

    ‘बेसहारा परिवारको सहारा नै बृद्धभत्ता’

    रोजगारीका लागि भारत पुगेका उनलाई कम्पनीले पनि कुनै सहयोग गरेन । दुर्घटनामा परेपछि दिदिहरु र आफन्तले क्रृण खोजेर पठाएको पैसाले उपचार गरी केशव घर फर्किए । उनी नेपाल आइपुग्दासम्म धन्नै ६ लाख रुपैँया खर्च भयो । त्यती बेलाको ऋण पनि अझै बाँकी छ ।

    ‘घरमा तीनजना छौँ । तीनै जना रोगी भयौँ । कोही काम गर्न सक्दैनौँ । कमाई हुनेबाटै छैन । खै के गर्ने हो रु’ लामिछानेको बुबा समस्या देखाउँछन् ।

    अहिले यो परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय छ । घरको आयस्रोत भनेकै अग्नीधरको बृद्धभत्ता हो । त्यो वाहेक कहिलेकाँही छोरी, ज्वाइँहरुले सक्दो सहयोग गर्छन् ।

    केशवले अपांगता परिचयपत्र बनाउन वडामा निवेदन दिएको पनि वर्षदिन बितिसक्यो । तर, अहिलेसम्म बनेको छैन । अपांगता परिचयपत्र बनेमा त्यसबाट सामाजिक सुरक्षा भत्ता आए घरखर्चमा अलि सहज हुने उनको आश छ ।

    ‘हाम्रो लागि भगवान कहीँ त होलान् नि ?’

    भनिन्छ, जसको सहारा कोही हुँदैन उसको लागि भगवान हुन्छ । केशव सँग पनि भगवानसँगको आस्था अझै पनि छ ।

    ‘भगवानले एकपटक सायदै झुक्किएर दुस्ख दिनुभयो । ढिलोचाँडो कहीँ कतैबाट भगवानले हेर्नुहोला नि, हाम्रो लागि कहीँ त भगवान होलान् नि रु’, उनी भगवान प्रतिको आस्था देखाउँछन् ।

    बा-आमालाई खुसी दिने पहिलो प्रयासमा नै खुट्टा गुमाएपनि उनले हरेस भने खाईसकेका छैनन् । अब उनीसँग एउटै आश छ, ‘कहीँ कतैबाट सिपमुलक तालिम सिकेर, सहयोग जुटाएर कुनै ब्यवसाय गर्न सकुँ । अनि परिवारमा छाएको दुख र पिडाका कालो बादललाई फेरि हटाउन सकुँ ।’ - न्युज कारखाना

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - १४:४४:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology