शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोट बेलकोटगढीकी महिलाको अन्धविश्‍वासकै कारण हत्या, तिन जना पक्राउ

नुवाकोट बेलकोटगढीकी महिलाको अन्धविश्‍वासकै कारण हत्या, तिन जना पक्राउ

नागरिक पाटी

२५, आश्विन २०७८
  • 31.8K
    SHARES
  • नुवाकोट बेलकोटगढीकी महिलाको अन्धविश्‍वासकै कारण हत्या, तिन जना पक्राउ

    पासो लगाएर आत्महत्या गर्दा प्रयोग गरिएको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर ललितपुरमा एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेका छ ।

    images
    images

    पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ प्याङचे टोल घर भई ललितपुर महानगर–२८ हरिसिद्धि नयाँबजार बस्ने २३ वर्षीय सविन प्रजा, उनकी पत्नी १८ वर्षीया प्रविना प्रजा र मोरङ पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे घर भई हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर छन् ।

    उनीहरुले नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई ललितपुर महानगर–२७ सुनकोठी बस्ने ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरेको अनुसन्धानमा खुलेको छ । महाशाखा प्रमुख एसएसपी चन्द्र कुबेर खापुङका अनुसार भदौ २५ गते बिहान साढे ६ बजे सुनाकोठीस्थित टहरामा कमलाको शव शंकास्पद अवस्थामा फेला परेको थियो ।

    प्रहरीले शंकास्पद अवस्थामा शव फेला पारेपछि अनुसन्धान गर्दा पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर उनीहरुले कमलाको हत्या गरेको खुलासा भएको एसएसपी खापुङले बताए । हत्याको आरोपमा प्रहरीले झण्डै एक महिनापछि असोज २१ (बिहीबार) सुमन मगरलाई हरिसिद्धिबाट पक्राउ गरेको हो ।

    सुमनलाई पक्राउ गरेपछि यस्तो तथ्य फेला परेको र हत्यामा संलग्न सविन प्रजा र उनकी पत्नी प्रविना प्रजा माझीलाई महाशाखाले शुक्रबार मकवानपुर मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेको हो । हत्या आरोपी तीनै जनालाई महाशाखाले आइतबार सार्वजनिक गरेको छ ।

    ‘उनीहरूले मान्छे पासो लगाएर मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने कुरा कतैबाट सुनेका रहेछन्,’ एसएसपी खापुङले भने, ‘सुनेकै भरमा एक्लै बसेकी महिलाको हत्या हुन पुग्यो ।’

    सविन र सुमनले मानिस पासो लागी मरेको डोरीसँगै राम–लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायत वस्तुहरू करोडौं रुपैयाँमा बिक्री हुने हल्ला सुनेका थिए । ‘सो हल्ला कहाँबाट सुनेको भन्ने चाँहि खुलेको छैन,’ एसएसपी खापुङले भने ।

    प्रहरी अनुसन्धान अनुसार भ्रामक योजना बनाएर उनीहरूले डोरीका लागि कमलालाई निशानामा राखेका थिए । एक्लै बस्ने, हिमचिम भएको र सँगै बसेर मदिरासमेत खाने गरेकी कमलालाई सुमन, सविन र प्रविनाले हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमन र कमलाबीच पुरानै चिनजान भएकोसमेत बताइएको छ ।

    कमला आफ्ना श्रीमान र छोरासँग छुट्टिएर ज्यामी काम गरेर गुजारा चलाउँदै आएकी थिइन् । भदौ २४ गते साँझ सुमन र सविनले आफूहरू टहरामा बस्न आउने भन्दै कमलालाई फोन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरु रक्सी लिएर साँझ कमलाको टहरामै पुगे र सँगै पिएर राति सँगै सुते ।

    महाशाखाका डिएसपी निशान थापाका अनुसार उनीहरुले हत्या गर्ने योजना बनाएर इनारमा प्रयोग हुने ३ फिट लामो डोरी साथमै लिएर गएका थिए । हत्यापछि डोरीसँगै कमलाले कानमा लगाएको गहना, मोबाइलसमेत लिएर भदौ २५ गते बिहानै उनीहरु टहराबाट हिँडेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    घटनापछि पासो लगाइएको डोरी र कमलाले कानमा लगाएका गहनासमेत नक्कली भएको भन्दै फ्याँकेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीले हत्यामा प्रयोग भएको डोरी र गहना भने पत्ता लगाएको छैन । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको छ । लिला श्रेष्ठले कान्तिपुर दैनिकमा खबर लेख्नुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७८ सोमवार - ०७:१९:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology