आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आमालाई चाहियो बुहारी, तर म ‘छोरो’ थिइनँ !

आमालाई चाहियो बुहारी, तर म ‘छोरो’ थिइनँ !

नागरिक पाटी

३०, आश्विन २०७८
  • 6.4K
    SHARES
  • आमालाई चाहियो बुहारी, तर म ‘छोरो’ थिइनँ !

    भूमिका श्रेष्ठ

    images

    दिदीको विवाह भइसकेको थियो। दाजुको कुनै भर थिएन। ममीको उमेर पनि ढल्कँदै थियो। म पहिचान र अधिकारको सङ्घर्षमा होमिएकी मान्छे, कहिले कहाँ त कहिले कहाँरु घरमा सघाउने मान्छे थिएन।

    उता, आममानिसको दृष्टिमा म ‘तन्नेरी’ अनि आफ्नो अनुभवमा तरुनी भइसकेकी थिएँ। ममीलाई मेरो अवस्था थाहा थियो। तैपनि भन्नुभयो, ‘बाबु, बाहिर जेसुकै गर्, घरमा एउटी बुहारी त जसरी पनि चाहियो। तेरो कोही छ भने भन् नत्र म खोज्छु।’

    ममीले घरायसी कामकाजका लागि मात्र बुहारी खोज्नुभएको थिएन, मलाई ‘छक्का’, ‘हिजडा’ भन्दै हेप्ने छिमेकी र आफन्तको मुखमा बुजो लगाइदिन चाहनुहुन्थ्यो।

    ‘बाहिर जसरी हिंड्छस् हिँड्, घरका लागि एउटी बुहारी भित्र्याइदे, दुनियाँको मुख टाल्न यति गर्नैपर्छ बाबु,’ उहाँ भन्नुहुन्थ्यो।

    म सुनेको नसुनेझैँ गर्थें।

    नेपाल भाषामा पारिवारिक जीवन सफल बनाउन नसाः, तिसाः र सुसाः व्यवस्थापन गर्न सक्नुपर्छ। नसाः अर्थात् खानपान, तिसाः अर्थात् घरजग्गा-गहना। यी दुई कराको जसोतसो व्यवस्थापन हुने भए पनि सुसाः अर्थात यौनसुख कुनै केटीप्रति झुकाब नभएको मबाट सम्भव थिएन। म त तेस्रो लिङ्गी हुँ।

    झट्ट हेर्दा केटीजस्तो देखिन्थें। साथी पनि धेरै केटीं थिए। तर, उनीहरूप्रति मेरो कुनै आकर्षण थिएन। छोरोलाई धेरै केटीले घेर्न थालेको महसुस गरिरहनुभएकी ममीलाई भने कुन केटी ल्याउने होला भन्ने पिर परेछ।

    ‘म कुनै हालतमा केटीसँग विवाह गर्दिनँ। आफैँ केटी भएकाले केटा पाए मात्र विवाह गर्छु,’ ममीलाई जवाफ दिएँ।

    पछि केही छिमेक र आफन्तले ममीलाई सम्झाएछन्, ‘यसको इच्छाविपरीत जबरजस्ती केही नभन्नू, तेस्रो लिङ्गी, समलिङ्गीहरूको छुट्टै स्वभाव हुन्छ। इच्छाविपरीत गराए जे पनि हुन सक्छ।’

    ममीले कर गर्न छाड्नुभयो।

    ‘मैले किन विवाह गर्नुपर्‍यो, म तपाईलाई कमाएर खुवाइहाल्छु नि। बुहारीले गर्ने काम सबै गरिहाल्छु,’ उहाँलाई ढाड्स दिएँ।

    लैङ्गिक पहिचान लुकाएर बिहे गर्दा धेरै महिला, पुरुष र हाम्रो समुदायको परिवार भताभुङ्ग भएको, आत्महत्यासम्मका घटना थाहा पाएकी थिएँ। ममीलाई पनि त्यस्ता घटना सुनाउँथें।

    यसबीच मसँग विवाहको प्रस्ताव लिएर थुप्रै केटी आए। विभिन्न तरिकाले ‘इग्नोर’ गर्दै गएँ। आफ्नो लैङ्गिक पहिचानका कारण उनीहरुलाई धोका दिन चाहिनँ। भगवानले जस्तो लैङ्गिक विशेषता दिए त्यहीअनुसार हिँड्न चाहेँ। आखिर म मात्र अपवाद थिइनँ। नेपालमै पनि मजस्ता फरक यौनिक तथा लैङ्गिक विशेषताका १३ प्रतिशत मानिस एकत्रित भइसकेका छन्। संगठित हुने क्रम अझ बढ्दै छ।

    आखिर मेरो कुरामा ममी सहमत हुनुभयो। घरमा बुहारी भित्र्याउने कुरा त्यत्तिकै सेलायो।

    (यो लेख हामीले भूमिका : तेस्रो लिङ्गीको आत्मकथाबाट लिएका हौँ।)

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७८ शनिवार - १९:२६:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology