आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इतिहास बन्दै "दुर्गम क्षेत्र विकास समिति"

इतिहास बन्दै "दुर्गम क्षेत्र विकास समिति"

  • 10.7K
    SHARES
  • इतिहास बन्दै "दुर्गम क्षेत्र विकास समिति"

    पहिले तिब्बत स्वतन्त्र राज्य हुँदा तिब्बतका सीमावर्ती क्षेत्रका नेपाली जनसमुदायलाई जीवनयापन गर्न त्यति समस्या झेल्नु पर्दैनथ्यो । किनभने त्यतिखेर नेपाल-तिब्बत सीमाहरु खुल्ला जस्तै थिए । हिमाली बासिन्दाले तिब्बती भूमिमा आवतजावत गर्न ,बन्दव्यापार गर्न,बिहेबारी गर्ने ,सामान सट्टापट्टा गर्ने र तिब्बती भूमिमा पशुचौपाय चराउने सुविधा उपभोग गर्दै आएका थिए । तर तिब्बत चीनमा गाभिएपछि चीन सरकारले सबै नाका बन्द गरेर सीमानामा कडीकडाउ गर्न थालेपछि हिमाली भेगका नेपाली जनसमुदायलाई जीवनयापन गर्न कठिनाइ हुन थाल्यो । सन् १९५१ मे २३ तारिखमा तिब्बतले चीनसँग विवादित सम्झौतामा हस्ताक्षर गरेपछि तिब्बत विधिवत रुपमा चीनको हुन पुगेको थियो । यही असहज परिस्थितिले गर्दा नेपालमा दुर्गम क्षेत्र विकास समिति गठन गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता उत्पन्न भएको थियो ।

    images

    विक्रम सम्वत २०२२ सालमा विकास समिति ऐन २०१३ अनुरुप समिति गठन गरी ४ दुर्गम जिल्ला (हुम्ला ,मुस्ताङ, सोलुखुम्बु जिल्लाको नाम्चेबजार र ताप्लेजुङको ओलाङ्चुङगोला) मा तत्कालीन गृह पञ्चायत मन्त्रालय अन्तर्गत उत्तरी सीमा प्रशासन कार्यालय मार्फत दुर्गम क्षेत्र विकास कार्यक्रम शुरु भएको थियो । पछि विसं २०२५ मा प्रधानमन्त्रीज्यूको अध्यक्षतामा समिति गठन भै कार्य अघि बढेकोमा पछि २०२९ सालमा स्थानीय विकास विभागको स्थापना पश्चात समितिलाई एकीकरण गरी दुर्गम क्षेत्र एवं स्थानीय विकास विभाग गठन भै कार्य अगाडि बढाइएको थियो । पछि २०३७ सालमा स्थानीय विकास मन्त्रालयको स्थापना पश्चात माननीय स्थानीय विकास मन्त्रीज्यू पदेन अध्यक्ष रहने गरी दुर्गम क्षत्र विकास समिति गठन भएको थियो । २०४४ सालमा भौगोलिक ,सामाजिक तथा आर्थिक रुपले विपन्न अवस्थामा रहेका १८ वटा जिल्ल्लहरुलाई कार्यक्षेत्र तोकिएकोमा २०४७ मा ४ जिल्ला थप गरी २२ जिल्लामा आफ्नो कार्यक्रम सञ्चालन गरिदै आएको थियो । समितिको उपाध्यक्षमा दुर्गम जिल्लाका पूर्व सांसद मध्येबाट एकजना नियुक्त हुने, पाँच सदस्यमा विकास क्षेत्रबाट प्रतिनिधित्व हुने , लामा प्रतिनिधि र विभिन्न मन्त्रालयबाट प्रतिनिधित्व हुने गरी बोर्ड गठन गरिएको थियो । जिल्लाहरुमा भने जिल्ला बिकास समितिको कार्यालयमा अफिस रहने र स्थानीय विकास अधिकारी कार्यालय प्रमुख रहने गरी दुर्गम क्षेत्र बिकास समितिका कर्मचारीहरु परिचालन गरिएको थियो ।

    समितिबाट कार्यक्रम सञ्चालन हुने पुरै दुर्गम क्षेत्रमा पर्ने जिल्लाहरु सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, डोल्पा , मुगू, हुम्ला, जुम्ला, कालिकोट ,जाजरकोट ,बाजुरा ,बझाङ र दार्चुला रहेका छन् । त्यस्तै अंशिक रुपमा दुर्गम मानिएका जिलाहरुमा ताप्लेजुङ् ,संखुवासभा ,दोलखा ,रसुवा ,धादिङ, सिन्धुपाल्चोक ,गोरखा ,रोल्पा र अछाम रहेका छन् । उत्तरी सीमावर्ती क्षेत्रका सुदुर उत्तरका २२० गाविसलाई विकट दुर्गम मानिएको छ ।

    समितिले प्ररम्भदेखि नै मूलबाटो तथा झोलुङ्गेपुललाई पहिलो प्राथमिकतामा राखी काम गर्दै आएकोमा २०५० सालबाट लघुजलविद्युतीकरण र सोलार प्यानल जडान कार्यक्रम पनि अघि बढाएको थियो । साथै दुर्गम भेगका बासिन्दालाई विविध शीपमूलक र आयमूलक तालिम पनि प्रदान गर्दै आएको थियो । यहाँ दुर्गम क्षेत्र विकास समितिले स्थापनाकालदेखि आव २०७२।७३ सम्म गरेका मुख्य मुख्य कार्यहरुको संक्षिप्त चर्चा गरिएको छ ।

    दुर्गम क्षेत्र विकास समितिले हालसम्म ५३६ वटा झोलुङ्गेपुल तथा ट्रसब्रिज निर्माण गरेको छ । त्यस्तै ११२ वटा लघुजलविद्युत योजनाबाट १८७४ किलोवाट विद्युत उत्पादन भएको छ । २६ वटा सोलार योजनाबाट ३६दशमलव ४ किलोवाट विद्युत उत्पादन भएको छ । त्यस्तै , ८ वटा आधुनिक पानीघट्ट निर्माण गरी कुटानी पिसानीका साथै ३९ किलोवाट विद्युत उत्पादन भएको छ । त्यसैगरी ६८८ वटा खानेपानी योजना ,४६६ वटा सिंचाइ योजना, २०१ वटा गुम्बा निर्माण एवं मर्मत कार्य सम्पन्न गरेको छ । त्यस्तै ४२८ वटा बाटो तथा सडक गरी कूल १८२८ किमी बाटो निर्माण भएको छ । अन्य सामुदायिक पूर्वाधार ९ विद्यलय ,गोदामघर ,मन्दिर ,धर्मशाला आदि० निर्माण योजना ७२७ वटा सम्पन्न भएको छ । त्यस्तै विविध शीपमूलक तथा आयमूलक कार्यक्रमबाट १५१९ जनाले तालीम ९सिकर्मी, डकर्मी,जडीबुटी ,प्रिन्टिङ प्रेस , होटल व्यवस्थापन, प्लम्बर , सिलाइकटाइ , घडी-रेडियो तथा टीभी मर्मत ,जुत्ता सिलाई , अपरेटर तालिम ,ग्रामीण स्वास्थ्य कार्यकर्ता तालीम ,लामा अगुवाइ ,बेमौसमी तरकारी खेती र कर्मचारी शीप विकास तालिम आदि) प्राप्त गरेका छन् ।

    यस्तो गौरवशाली इतिहास बोकेको दुक्षेविसले आव २०७३/७४ का कार्यक्रमहरु सबै स्थानीय निकायको जिम्मामा हस्तान्तरण गरिदियो भने आव २०७४/७५ समिति खारेज भै पूर्वाधार विकास विभागलाई आफ्नो भौतिक सम्पत्ति विधिवत रुपमा हस्तान्तरण गरिदियो र एउटा कालखण्डको पटाक्षेप भयो। समिति हुँदा र नहुदाको फरक भने दुर्गम गाउँपालिकाहरुले महशुस गरिरहेका छन् ।

    लेखक न्यौपाने दुर्गम क्षेत्र विकास समितीको पूर्व इन्जिनीयर हुनुुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०७८ बुधवार - १०:३३:५६ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology