प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकार सही दिशामा अघि बढिरहेको दाबी गरेकै बेला प्रमुख प्रतिपक्षी एमालेले सरकारको नीति र नियतमाथि प्रश्नैप्रश्न उठाएको छ ।
सरकारले ६ महिना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गरेको दुई दिनपछि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्तिमार्फत सरकारको कार्यशैली र कार्यक्रममाथि विरोध गरेका छन् ।
ओलीले मुलुकको कार्यकारी अंगका रूपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको टिप्पणी गरेका छन् । ‘सरकार राष्ट्रिय हितको रक्षामा चुकेको छ, महामारीमा अकर्मण्य बनेको छ र जनतालाई न्यूनतम राहत दिनसमेत असमर्थ भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यका तीनवटै अंग आज संकटोन्मुख छन् र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको छ ।’ कान्तिपुर दैनिकबाट