संविधान र लोकतन्त्र समाप्त पार्ने डिजाइनअन्तर्गत पाँचदलीय गठबन्धन सरकारले चुनाव सार्न खोजेको आरोप लगाउँदै प्रमुख विपक्षी दल एमालेले पहिलो चरणको दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
एमालेको २२ जनवर्गीय संगठनहरू आबद्ध मोर्चा संयन्त्रको शनिबारको बैठकले स्थानीय तहको चुनाव घोषणाका लागि सोमबारसम्म सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार र सोमबारभित्र जिल्लाहरूमा समय तय गरेर जिल्ला सदरमुकाम कार्यालय घेराउ र ज्ञापनपत्र बुझाउनेसहितका कार्यक्रम एमालेले सार्वजनिक गरेको छ ।
एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले सोमबारभित्र स्थानीय तहको निर्वाचन घोषणाको मुख्य माग राखेर सबै जिल्ला सदरमुकाम घेराउ र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइने बताए । ज्ञापनपत्रमा कोभिड महामारी नियन्त्रणमा सरकारले देखाएको उदासीनता, अर्थतन्त्रको समस्या, भ्रष्टाचार, महिला हिंसा र किसानहरूमाथिको दमनलगायत विषय पनि समेटिने उनले जानकारी दिए ।
त्यस्तै, काठमाडौंको हकमा २२ वटै जनवर्गीय संगठनका तर्फबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । सोमबार स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै माइतीघर मण्डला क्षेत्रमा ब्यानरसहित मोर्चा संगठनमा आबद्ध जनवर्गीय संगठनहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।