धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा स्यानेटरी ल्यान्डफिल साइटको काम अहिले भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको छ।

काठमाडौं उपत्यकाको फोहोरलाई दीर्घकालीन रूपमा व्यवस्था गर्न नयाँ ल्यान्डफिल साइट बनाउने काम २०७६ बैशाख ११ गतेबाट सुरु भएको हो । हालको फोहोर व्यवस्थापन भइरहेकै नुवाकोटको औखरपौवा सिसडोल भरिएकाले थप फोहोर फाल्ने ठाउँको अभाव हुन थालिसकेको छ। अब केही समय पछि धादिङको धुनिबेशीको बञ्चरेडाँडा स्यानेटरी ल्यान्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गर्न सकिने सहरी विकास तथा भवन निर्माण विभागले बताएको छ ।

दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा स्यानेटरी ल्यान्डफिल बनाउने काम निर्णय कोशी लुम्बिनी निर्माण कम्पनीले साइट भवन, फोहोर फाल्ने पूर्वाधार तयार गरि रहेको छ। सोको निर्माण ७० प्रतिशत सम्पन्न भएको छ । भने उक्त ठाँउमा जान सडक र डम्मको काम गरि रहेको कालिका जेभिले ८० प्रतिशत भौतिक प्रगति गरेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । २०७८ सालको चैत्र मसान्त सम्म सम्पन्न गर्नु पर्ने काम केही महिना डिलो हुने देखिएको छ । कोरोनाका कारण केहि महिना काम प्रभावित भएको निर्माण कम्पनीले बताएको छ ।

धादिङको बन्चरेडाँडामा सरकारले अधिग्रहण गरेको १७ सय रोपनीमध्ये १०४ रोपनी क्षेत्रफलमा रहेको बन्चरेडाँडाको आधार क्षेत्रमा पूर्वाधार निर्माण भइरहेको छ । बन्चरेडाँडामा व्यवस्थित फोहोर फाल्नकै लागि कोल्पु खोलालाई डाइभर्ट गरिएको छ। फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा २० हजार लिटर क्षमताका दुईवटा दुषित तरल पदार्थ जम्मा हुने ट्यांकी समेत निर्माण भइरहेको छ ।

उक्त बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइटको धुनिबेशी नगरपालिकाका मेयर बाल कृष्ण आचार्य,उपमेयर निरु खरेल,वडा नम्बर १ का वडा अध्यक्ष चन्द्र तामाङले निरिक्षण गर्नु भएको छ ।




