निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेको छ । वैशाख ३० मा हुन लागेको निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्ताको लागि सोमबार अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग गरेको आयोगले जनाएको छ ।
कोभिडको बेला स्वास्थ्य मापदण्ड पालना गराउन आवश्यक सामग्री राख्दा पनि अघिल्लो स्थानीय तहको निर्वाचनको भन्दा कम खर्चमा गर्न लागेको आयोगको दाबी छ । अघिल्लो निर्वाचनको लागि सरकारले आयोगलाई १० अर्ब २९ करोड उपलब्ध गराएको थियो ।
यस वर्ष निर्वाचनमा खटिने कर्मचारीको भत्तामा झण्डै ४० प्रतिशत कटौती गरेको आयोगले जनाएको छ । अघिल्लो वर्ष तबलको १ सय २१ प्रतिशत र अरु सुविधासहित १ सय ४० सम्म निर्वाचन भत्ता लिएकोमा यसपटक एक सय प्रतिशत मात्रै दिन लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । कान्तिपुर दैनिकमा खबर छ ।