शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानीय निर्वाचनका लागि झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

स्थानीय निर्वाचनका लागि झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

नागरिक पाटी

१७, चैत्र २०७८
  • 7.1K
    SHARES
  • स्थानीय निर्वाचनका लागि झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

    काठमाडौं । स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको संख्या भने खुलाइएको छैन । स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । भारतसँग सिमाना जोडिएका तराईका ८ र विभिन्न भूमिगत समूह र निर्वाचन वहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

    images
    images

    गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिमा ज्वाला समूह, निर्वाचन वहिष्कार गरेको वैद्य निकट नेकपा माओवादी, सिके राउतको जनमत पार्टीलगायतका केही साना दल चुनौतीको रूपमा रहेको उल्लेख गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले तीनै सुरक्षा निकायलाई संवेदनशील क्षेत्र र मतदान केन्द्रमा विशेष निगरानी अपनाउन निर्देशन दिएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बुधबार नेपाल समाचारपत्रसँगको कुराकानीमा आवश्यकताको आधारमा सिजर्भ फोर्स तयार गरेर भए पनि सुरक्षा व्यवस्था बजबुत बनाउने योजना रहेको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो–‘विशेष गरी जित्नैपर्ने प्रतिष्ठासँग जोडिएका र बढी प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएका छौं ।’ प्रवक्ता एसएसपी केसीका अनुसार निर्वाचनमा ७७ वटै जिल्लामा थप सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्थासहित रिजर्भ फोर्स रहनेछन् भने प्रहरी प्रधान कार्यालयमा भने २ सय जनाको रिजर्भ फोर्स रहनेछ ।

    गृह मन्त्रालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना जारी गरेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै योजना तयार गरेको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा ३ जना प्रहरी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी प्रहरी रहनेछन् । सशस्त्र प्रहरीले मोबाइल गस्ती जारी राख्नेछ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजधानीलगायत मुख्य शहरी र अन्य क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती शुरू गरिसकेको छ ।

    सशस्त्र प्रहरीको मोबाइल गस्ती र स्ट्राइकिङ टोली सुरक्षा अवस्थाअनुसार परिचालन गरिनेछ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि निर्वाचनका कार्यालयको सुरक्षा जिम्मा सशस्त्र प्रहरीले लिएको छ ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले आवश्यकताको आधारमा सेना परिचालित हुने जिकिर गर्दै भन्नुभयो– ‘सरकारले निर्देशन दिएअनुसार नेपाली सेना परिचालित हुनेछन् ।’ उहाँले निर्वाचनमा आवश्यकता अनुसार हवाई गस्ती पनि गरिने जानकारी दिँदै भन्नुभयो–‘तत्काल हवाई गस्ती गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन । मितव्ययीता अपनाउन सकभर हवाई साधन प्रयोग गर्दैनौं, आवश्यकताका आधारमा हवाई गस्ती गर्न टोली तैनाथ हुनेछन् । त्यसका लागि सबै हेलिकप्टर तयारी अवस्थामा राखेका छौं ।’

    नेपाली सेनाले विभिन्न स्थानमा हेलिकप्टर तैनाथी गर्नेछ । नेपाली सेनाले हिंडेर र सवारी साधन गस्तीलाई निरन्तरता दिने जनाएको छ । सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइरहेका विमानस्थल, कारागार, महत्वपूर्ण कार्यालयहरूको सुरक्षा जिम्मा पनि नेपाली सेनालाई दिइने भएको छ । त्यहाँबाट निकालेर प्रहरीलाई निर्वाचनमा खटाइने छ ।

    अबको करिब १५ दिनपछि महत्वपूर्ण क्षेत्रको सुरक्षा नेपाली सेनाले गर्नेछ । सशस्त्रले मतगणना, बाहिरी सुरक्षा र पेट्रोलिङ गर्नेछ । राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित टोलीले सुरक्षा अवस्था र चुनौती बारेमा सूचना संकलन गर्नेछ र सोही सूचनाको आधारमा सुरक्षाका तीन निकायले छुट्टै योजना तय गर्नेछ ।

    नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०७:४३:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology