धादिङ । गजुरी गाउँपालिका वडा नम्बर १ हाँगेटारमा रहेको चेपाङ किशोरी छात्रावास भवन उद्घाटन तथा स्वामित्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । साढे चार रोपनी क्षेत्रफलमा ३६ जना किशोरी बस्न मिल्ने भवन निर्माण सम्पन्न भई केही समय अगाडीबाट छात्रावासमा ३१ जना किशोरी बस्दै आएका छन् ।

प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा र गजुरी गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भई गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठलाई बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा स्वामित्व हस्तान्तरण कार्यक्रम भएको हो ।

साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन रु. २ करोड ३३ लाख २२ हजारको लागतमा निर्माण सम्पन्न भएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
चेपाङ किशोरीको शैक्षिक विकासका लागि लक्षित गरेर छात्रावास निर्माण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले बताउनु भएको छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले भौगोलिक विकट स्थानबाट उच्च शिक्षाका लागि आएका चेपाङ किशोरीको पढाइमा सहयोगका लागि विकास साझेदारसँगको समन्वय तथा सहकार्यमा निर्मित छात्रावासको सही प्रयोग तथा व्यवस्थापनमा गर्ने बताउनु भएको छ । पालिकाले छात्रावास व्यवस्थापन गर्न वार्षिक ९ लाख बजेट विनियोजन गरेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेशका मुख्य मन्त्री पाण्डेले किशोरीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने गरी शिक्षाका माध्यमबाट सामाजिक रुपान्तरण अभियानमा प्रयास नेपाल र प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्टले गरेको कामलाई धन्यवाद दिनु भएको छ । मुख्य मन्त्री पाण्डेले बागमती प्रदेश सरकारको तर्फबाट छात्रावासलाई २० वटा कम्प्युटर सहयोग गर्ने बताउनु भएको छ । उहाँले चेपाङ जातिको हक हितका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर काम गर्ने बताउनु भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९\८० का लागि विपन्न जातिका लागि विशेष कालका योजना समेत ल्याएका सुनाउनु भयो । भवन निर्माण सहयोग गर्ने संघ संस्था,व्यक्ति र पत्रकारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रयास नेपालका अध्यक्ष रेष्टन कडेल, वागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारी धादिङ कृष्ण प्रसाद लम्साल, जिसस धादिङका उपप्रमुख कुलमान बि.क.,गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,उपाध्यक्ष,वेनिघाट रोराङका उपाध्यक्ष ,गजुरीका प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, गजुरीका निवर्तमान उपाध्यक्ष,राजनितिक दलका पार्टी प्रतिनिधिहरु, नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष, नेपाल चेपाङ संघ धादिङका अध्यक्ष तथा अन्य प्रतिनिधि, शिक्षक तथा शिक्षा प्रेमीहरु, आमा समूह एवम चेपाङ वालवालिकाहरु सहभागीता रहेको थियो ।